
काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा भएको अत्यधिक मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ ।
महासंघले तय गरेको पूर्व निर्धारित शान्तिपूर्ण विरोधका कार्यक्रम अनुसार बिहीबार केन्द्रमा एसोसिएट सदस्य समन्वय समितिको तर्फबाट सडक विभाग र उर्जा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाइ ती विभागमा आधा घण्टा धर्ना दिइएको हो ।
एसोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले महानिर्देशक द्वयलाई ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्थाबारे अवगत गराए ।
यसैबीच महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले बिहीबार नै प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइ शान्तिपूर्ण तवरमा आधा घण्टा धर्ना दिएका छन् ।
मूल्यवृद्धिका कारण अब उप्रान्त निर्माण कार्य बन्द हुने परिस्थिति आएको महासंघले जनाएको छ । यी विषयमा अवगत गराउँदै ज्ञापन पत्र दिएर देशभरका जिल्ला प्रशासन कार्यालयमा आधा घण्टा धर्ना दिइएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिए ।
महासचिव घिमिरेका अनुसार जिल्ला संघहरूले शुक्रबार र आगामी सोमबार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन र सिँचाइ कार्यालयहरूमा ज्ञापनपत्र बुझाइ आधा घण्टा धर्ना दिनेछन् ।
विरोधकै कार्यक्रम अन्तर्गत सात प्रदेश निर्माण व्यवसायी महासंघले शुक्रबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मुख्यमन्त्री कार्यालयमा आधा घण्टा धर्ना दिने महासंघका नीतिगत उपमहासचिव एवम् प्रवक्ता मंगलबहादुर शाहीले बताए ।


