२०८३ वैशाख २९ मङ्गलवार , ११:०५:४६ बजे

Sajhamanch
'

चीनमा विवाहको संख्या दशककै न्यून विन्दुमा

मङ्गलवार, वैशाख २९, २०८३

सन् २०२६ को पहिलो त्रैमासिक अर्थात् जनवरीदेखि मार्चसम्म चीनमा करिब १७ लाख विवाह दर्ता भएका छन् । १.४ अर्ब जनसंख्या भएको देशका लागि यो संख्या निकै कम मानिएको छ ।

समाचार एजेन्सी रोयटर्सले आधिकारिक तथ्यांकलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार यो संख्या सन् २०२५ को पहिलो त्रैमासिकको तुलनामा ६.२ प्रतिशतले कम हो । सन् २०१७ को पहिलो त्रैमासिकको तुलनामा झन्डै आधाले न्यून हो ।रोयटर्सका अनुसार विवाह दर्तामा आएको यो गिरावटले चीनमा बढ्दो जनसांखिकीय चुनौतीको स्पष्ट संकेत गरेको छ ।

विवाहको संख्या घट्दै जाँदा जन्मदरमा पनि स्वाभाविक रूपमा गिरावट आएको छ । हाल चीनको जन्मदर रेकर्डकै न्यूनस्तरमा पुगेको छ । विज्ञहरूले आगामी वर्षहरूमा यो अझै घट्न सक्ने चेतावनी दिएका छन् ।विवाह तथा जन्मदरमा आएको निरन्तर गिरावटका कारण सन् २०२५ मा लगातार चौथो वर्ष चीनको कुल जनसंख्या घटेको तथ्यांक सार्वजनिक भएको थियो ।

घट्दो जनसंख्याले दीर्घकालीन रूपमा चीनको श्रम शक्ति, आर्थिक वृद्धि तथा सामाजिक संरचनामा गम्भीर असर पार्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।जनसंख्या घट्ने क्रमलाई रोक्न चिनियाँ सरकारले युवालाई विवाह गर्न र सन्तान जन्माउन प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम अघि बढाइरहेको छ ।

सरकारले परिवारहरूलाई आर्थिक अनुदान (सब्सिडी) दिने, बालबालिकाको पालनपोषणका लागि आर्थिक सहयोग उपलब्ध गराउने तथा बच्चा जन्मिँदा लाग्ने स्वास्थ्य उपचार खर्च कम गर्ने प्रयास गरिरहेको बताइएको छ ।

सम्बन्धित खबर