२०८३ वैशाख २७ आइतवार , ०९:०४:५८ बजे

Sajhamanch
'

विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण

आइतवार, वैशाख २७, २०८३

काठमाण्डौ ।  अमेरिका, क्यानडा र अष्ट्रेलियाका धेरै विश्वविद्यालय तथा विद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म ‘क्यानभास’मा साइबर आक्रमण भएपछि परीक्षा, असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन् ।

‘शाइनीहन्टर्स’ नामक ह्याकिङ समूहले आक्रमणको जिम्मा लिएको बीबीसीले जनाएको छ । साइबर आक्रमणपछि क्यानभास प्रणाली केही समय पूर्ण रूपमा बन्द भएको र झण्डै विश्वभर ९ हजार शैक्षिक संस्था प्रभावित भएका छन् ।
विद्यार्थीहरूले परीक्षा दिइरहेका बेला कम्प्युटर स्क्रिनमा बिटक्वाइनमा फिरौती मागिएको सन्देश देखिएको थियो । ह्याकर समूह शाइनीहन्टर्सले इन्स्ट्रक्चर कम्पनीलाई पैसा नतिरे डाटा सार्वजनिक गर्ने चेतावनी दिएका थिए । अमेरिकाको मिसिसिपी स्टेट विश्वविद्यालयले अन्तिम परीक्षा स्थगित गरेको छ भने पेन स्टेट, इडाहो स्टेट, क्यालिफोर्निया विश्वविद्यालयलगायतका संस्थाले पनि परीक्षा र असाइनमेन्ट प्रभावित भएको जनाएका छन् ।अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयले विद्यार्थीलाई क्यानभासमा लगइन नगर्न निर्देशन दिएको छ । क्यानडाका ब्रिटिस कोलम्बिया र टोरन्टो विश्वविद्यालयले पनि साइबर सुरक्षामा जोखिम देखिएको बताएका छन् । विद्यार्थीहरूले आफ्नो परीक्षा र असाइनमेन्ट हराउने चिन्ता व्यक्त गरेका छन् । केहीले व्यक्तिगत विवरण चुहिने डरसमेत बढेको बताएका खबरमा उल्लेख छ ।

क्यानभास सञ्चालन गर्ने कम्पनी ‘इन्स्ट्रक्चर’ले अधिकांश प्रयोगकर्ताका लागि सेवा पुनः सञ्चालनमा आएको जनाएको छ । तर केही विश्वविद्यालयमा समस्या अझै कायम रहेको छ । यस घटनापछि अमेरिकामा साइबर सुरक्षालाई थप मजबुत बनाउन माग बढेको छ ।अमेरिकी संसद्का शीर्ष नेताले सरकारलाई कृत्रिम बुद्धिमत्ता ९एआई० को युगमा बढ्दो साइबर जोखिमविरुद्ध तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ ।