२०८३ वैशाख २० आइतवार , ०९:३१:०२ बजे

Sajhamanch
'

अमेरिकाको चेतावनी-होर्मुजबाट जहाज पार गराउन इरानलाई पैसा नदिनू

आइतवार, वैशाख २०, २०८३

अमेरिकाले होर्मुज जलमार्गबाट जहाज पार गराउँदा इरानलाई पैसा नदिन चेतावनी दिएको छ ।अमेरिकाले जहाज सञ्चालक कम्पनीहरूलाई होर्मुजबाट सुरक्षित रूपमा पार गराउन भन्दै इरानलाई कुनै पनि प्रकारको भुक्तानी नगर्न चेतावनी दिएको हो । इरानलाई पैसा बुझाए सम्बन्धित कम्पनीहरूले अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।

अमेरिकाको ‘अफिस अफ फरेन एसेट्स कन्ट्रोल’ (ओएफएसी) ले मे १ मा जारी गरेको अलर्टमा इरानलाई गरिने कुनै पनि भुक्तानी गैरकानुनी मानिन सक्ने उल्लेख गरेको हो ।विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास व्यापार हुने रणनीतिक होर्मुज जलमार्गको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव जारी छ ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले होर्मुज हुँदै जाने जहाजहरूलाई धम्की दिन थालेको र सामान्य समुद्री यातायातमा अवरोध सिर्जना गरेको बताइएको छ । त्यसपछि इरानले केही जहाजहरूलाई आफ्नो तटीय क्षेत्र नजिकको वैकल्पिक मार्ग प्रयोग गर्न दिँदै शुल्क लिन थालेको थियो ।

अमेरिकाले यही शुल्क असुलीलाई लक्षित गर्दै नयाँ चेतावनी जारी गरेको हो ।ओएफएसीका अनुसार इरानलाई गरिने भुक्तानी नगदमा मात्र सीमित हुँदैन । क्रिप्टोकरेन्सी, अनौपचारिक विनिमय प्रणाली, सामान, दान वा इरानी दूतावासमार्फत गरिने भुक्तानी पनि प्रतिबन्धको दायरामा पर्न सक्छन् ।

इरानी कदमको जवाफमा अमेरिकाले अप्रिल १३ देखि आफ्नै नौसैनिक नाकाबन्दी सुरु गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार नाकाबन्दीपछि ४५ वटा व्यावसायिक जहाजलाई फिर्ता पठाइएको छ ।अमेरिकाको उद्देश्य इरानको मुख्य आम्दानी स्रोत तेल निर्यातमा दबाब सिर्जना गर्नु रहेको बताइएको छ ।यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि पठाएको पछिल्लो प्रस्ताव पनि अस्वीकार गरेका छन् । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले इरान सम्झौता गर्न चाहिरहेको भए पनि आफू त्यसबाट सन्तुष्ट नभएको बताएका छन् ।

इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार तेहरानले पाकिस्तानमार्फत नयाँ प्रस्ताव पठाएको थियो ।

सम्बन्धित खबर