२०८३ वैशाख २३ बुधवार , ०८:५१:५१ बजे

Sajhamanch
'

‘एमआरपी’ को परकम्प- विराटनगर भन्सारमा ४०० भन्दा बढी ट्रक अलपत्र

बुधवार, वैशाख २३, २०८३

विराटनगर । विराटनगर स्थित रानीमा रहेको एकीकृत भन्सार जाँच चौकीमा ४०० भन्दा बढी मालवाहक ट्रक अलपत्र परेका छन् ।

तयारी वस्तुको आयातमा भन्सार विन्दुमै अधिकतम बिक्री मूल्य एमआरपी उल्लेख हुनुपर्ने नियम लागेपछि मालवस्तु लिएर आएका ट्रक रोकिदा अलपत्र परेका हुन् ।

सरकारले तयारी वस्तुको अधिकतम विक्री मूल्य तोक्नु पर्ने नयाँ नियम लगाएको छ । सो नियमका कारण विगत आठ दिनदेखि ४०० भन्दा बढी मालवाहक ट्रकहरू सीमामै रोकिएका हुन् । जसका कारण अर्बौँ मूल्यका उपभोग्य तथा औद्योगिक सामग्रीहरू अलपत्र परेका हुन् ।

भन्सार विभागले वैशाख १६ गते निर्देशिका जारी गर्दै औद्योगिक कच्चा पदार्थ, मेसिनरी औजार र शीघ्र नष्ट हुने (पेरिसेवल) वस्तुको हकमा ‘स्वघोषणा’ गर्न पाउने लचिलो व्यवस्था प्रस्ताव गरेको थियो । तर, उक्त मध्यमार्गी प्रस्तावलाई प्रधानमन्त्रीले अस्वीकार गरिदिएपछि वैशाख १५ गतेदेखि सुरु भएको गतिरोध झन् जटिल बनेको हो ।

आइसीपी परिसरमा अहिले सौन्दर्य सामग्री, तयारी पोसाक, खाद्यान्न, बिउबिजन, टायर तथा अन्य दैनिक उपभोग्य वस्तु बोकेका ट्रकहरू रोकिएका हुन् । लामो समयसम्म सामान घाम र धुलोमा रोकिँदा गुणस्तर खस्कने र बजारमा सामानको अभाव भई मूल्यवृद्धि हुन सक्ने व्यवसायीले बताएका छन् ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले माथिल्लो निकायबाट स्पष्ट निर्देशन नआएसम्म एमआरपी नभएका वस्तुलाई जाँचपास गर्न नसकिने बताउनु भयो ।

सम्बन्धित खबर