
इटहरी । सुनसरीका विभिन्न स्थानमा शुक्रबार भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
सुनसरी प्रहरीका अनुसार शुक्रबार जिल्लाका इटहरी र दुहबीमा सवारी दुर्घटना हुँदा दुई जना पुरुषको मृत्यु र एक जना गम्भीर घाइते भएका हुन् ।
प्रहरीका अनुसार इटहरी उप-महानगरपालिका १७, पकलीस्थित भित्री सडक खण्डमा प्रदेश नं. १–०२–००२ स ६६९५ नम्बरको पानी बोक्ने सिटी सफारी दुर्घटना हुँदा चालक इटहरी– १८ बस्ने २५ वर्षीय बिकल चौधरीको मृत्यु भएको हो । सोही ठाउँका २६ वर्षीय उमेश श्रेष्ठ गम्भीर घाइते छन् ।
दुर्घटनामा दुवै जनाको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि विराट टिचिङ अस्पताल पठाइएको थियो । उपचारकै क्रममा चालक बिकल चौधरीको शुक्रबार राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटना तीव्र गतिका कारण भएको प्रारम्भिक अनुमान छ ।
यसैगरी, सुनसरीको दुहबी नगरपालिका–२ स्थित तुथाहामा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । इनरुवाबाट दुहबीतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ११११ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा अन्दाजी ५० वर्षीय पुरुषको ज्यान गएको हो । मृतकको पहिचान खुलेको छैन ।
दुर्घटना पछि प्रहरीले घाइतेलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको थियो । चिकित्सकले राति करिब १० बजे मृत घोषणा गरेका थिए । प्रहरीले बस र बस चालक मोरङ विराटनगर महानगरपालिका ११ बस्ने ३० वर्षीय मुकेश सहनी र सहचालक सुनसरी इनरुवा नगरपालिका–३ का २४ वर्षीय सागर चौधरीलाई नियन्त्रणमा लिएको छ।
दुवै घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


