२०८३ वैशाख १७ बिहिवार , ०६:५१:३८ बजे

Sajhamanch
'

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा

बिहिवार, वैशाख १७, २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद रिजालले राजीनामा दिनु भएको छ । नयाँ सरकारलाई सहयोग गर्न भन्दै उहाँहरूले राजीनामा दिनु भएको हो ।

नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्रिविका पदाधिकारीहरूले राजीनामा दिनु भएको हो । रेक्टर केसीले भन्नुभयो, ‘सरकारलाई काम गर्न सजिलो होस् भनेर सहयोग गर्न राजीनामा दिएका हौँ ।’ बिहीबार नै त्रिविका कर्मचारीमार्फत प्रधानमन्त्री एवं त्रिविका कुलपति वालेन्द्र शाहलाई राजीनामापत्र पठाएको रेक्टर केसीले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई २०८२ असार २५ गते त्रिविको उपकुलपतिमा नियुक्त गर्नु भएको थियो । तत्कालीन उपकुलपति प्रा. केशरजंग बरालले राजीनामा दिएपछि अर्याललाई कुलपति नियुक्त गरिएको थियो ।

केसी र रिजाल भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा २०८० चैत ३० गते क्रमशस् रेक्टर र रजिस्ट्रारमा नियुक्त हुनुभएको थियो । उहाँहरूलाई तत्कालीन उपकुलपति बरालको सिफारिसमा नियुक्त गरिएको थियो । त्रिविको पदाधिकारी कुलपतिसमेत रहेका प्रधानमन्त्रीले नियुक्त गर्ने व्यवस्था छ । त्रिविका पदाधिकारीको कार्यकाल ४ वर्षको हुन्छ ।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। यो अध्यादेश सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्ने उद्देश्यले ल्याइएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर