२०८३ वैशाख ९ बुधवार , ०२:३७:२१ बजे

Sajhamanch
'

नेकपा स्थापना दिवस मनाउन एमाले अध्यक्ष ओली च्यासल जाने

बुधवार, वैशाख ९, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी स्थापना दिवस मनाउन आज केन्द्रीय कार्यालय च्यासल जाने भएका छन् । जेनजी आन्दोलनमा हेलचेक्र्याइँ गरेर ज्यान मारेको आरोपमा पक्राउ र हाजिरी जमानीमा रिहा भएपछि ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा सरिक हुन लागेका हुन्।

रास्वपा नेतृत्वको सरकार बनेको भोलिपल्ट चैत १४ गते पूर्वप्रधानमन्त्री ओलीलाई गिरफ्तार गरेर चैत २६ गते मात्र रिहा गरेको थियो । सो पछि उनको पित्तथैलीमा पत्थरियाको शल्यक्रिया गरेर बैशाख ५ गते ओली घर फर्के पछि स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवसका दिन च्यासल गएर नेता कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन् ।

केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार दिउँसो दुई च्यासलमा आयोजना गरिने ७७औं स्थपना दिवस कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरु समेटिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकामा रहेका पार्टी केन्द्र, जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छुकहरुलाई आग्रह गरिएको छ ।

नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल बैशाख ९ गते तदनुसार अप्रिल २२ मा नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गरिएको थियो ।