२०८३ वैशाख ६ आइतवार , ०२:०१:०३ बजे

Sajhamanch
'

मधेश प्रदेशमा हिजोको हावाहुरीले तीन जनाको ज्यान गयो

आइतवार, वैशाख ६, २०८३

काठमाडौं । मधेश प्रदेशमा हिजोको हावाहुरीले तीन जनाको ज्यान गएको छ । महोत्तरीको जलेश्वरमा हावाहुरीले रुख टेम्पोमाथि खस्दा दुई जनाको र सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको ज्यान गएको हो ।

हावाहुरीका कारण हिजो बेलुका रुख ढलेको र ढलेको रुखले जलेश्वर नगरपालिका–९ परकौली सडकमा गुडिरहेको ज १ घ ४८५० नम्बरको टेम्पोलाई थिचेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

टेम्पोमा रहेका जनकपुर उपमहानगरपालिका–२० की ४१ वर्षीय सकुन्तला देवी र महोत्तरी एकडारा गाउँपालिका–३ का ३३ वर्षीय राहुल मलिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिनुभयो ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरूको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै हावाहुरीका कारण घरको पर्खाल भत्किँदा सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–२ की ६० वर्षीया किसुनवती यादवको ज्यान गएको छ ।

तीव्र हावाहुरीले घरको जस्तापाता उडाएको थियो । जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर गम्भीर घाइते यादवको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो मधेश प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले भएको क्षतिबारे तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।

सम्बन्धित खबर