२०८२ चैत २९ आइतवार , ०७:२८:०८ बजे

Sajhamanch
'

ताइवानलाई चीनको १० नयाँ प्रोत्साहन प्रस्ताव, विपक्षी नेताको भ्रमणपछि सम्बन्धमा सुधारको सङ्केत

आइतवार, चैत २९, २०८२

झापा । विपक्षी नेताको भ्रमणपछि चीनले ताइवानका लागि १० वटा नयाँ प्रोत्साहन प्रस्ताव गरेको छ । ताइवानको सबैभन्दा ठूलो विपक्षी दल कुओमिन्ताङ (केएमटी) की अध्यक्ष चेङ ली–वनको भ्रमणपछि चीनले प्रोत्साहन प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रायटर्सले जनाएको छ ।

चीनले गरेको प्रस्तावहरूमा पर्यटकमाथिको प्रतिबन्ध खुकुलो पार्ने, ‘स्वस्थ’ ताइवानी टेलिभिजन नाटकहरूलाई अनुमति दिने, खाद्यान्न बिक्रीलाई सहज बनाउने लगायतका विषय समावेश छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाकाअनुसार ताइवानको केएमटी र चीनको कम्युनिस्ट पार्टी ९सीसीपी० बीच नियमित सञ्चार संयन्त्रको स्थापना, दुई देशबीच सीधा उडान र व्यापारिक सम्बन्ध पुनः शुरू गर्ने तथा शाङ्घाई र फुजियान प्रान्तका व्यक्तिहरूलाई ताइवान भ्रमण गर्न अनुमति दिने कुरा पनि प्रोत्साहन प्रस्तावमा रहेका छन् ।

चीनको नयाँ प्रोत्साहन प्रस्ताव बारेमा ताइवान सरकारले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

केएमटीकी अध्यक्ष चेङ ली–वन एक दशकमा चीन भ्रमण गर्ने पार्टीको पहिलो नेता हुनुहुन्छ । सन् २०१६ मा साई इङ्ग–वेन नेतृत्वको डेमोक्रेटिक प्रोगेसिभ पार्टी सत्तामा आएपछि चीनले उच्चस्तरीय संवाद बन्द गरेको थियो । ताइवानले ‘एक चीन’ सिद्धान्तलाई अस्वीकार गरेको भन्दै चीनले यस्तो कदम चालेको थियो ।

चीनले ताइवान आफ्नो भू–भाग भएको दाबी गरिरहेको छ भने ताइवानले आफूलाई स्वतन्त्र देश भन्दै आएको छ ।

सम्बन्धित खबर