
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।
सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेर शपथ लिएका हुन् ।
गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ । संघीय संसद् सचिवालयले दलको सिट संख्याका आधारमा दलहरूको बस्ने ठाउँ तय गरेको छ ।

जसअनुसार, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई एउटै लहरमा बस्नेगरी सिट मिलाइएको छ ।
यी तीनवटै दलका सांसदहरू एउटै लहरमा राखिएको सिटमा बसेर बिहीबार शपथ ग्रहण गरे ।
शपथलगत्तै प्रत्येक सांसदहरूले संघीय संसद् सचिवालयले एक एक वटा झोला पनि उपलब्ध गराएको छ । उक्त झोलामा संविधान, प्रतिनिधि सभा नियमावली, संयुक्त बैठक संचालन नियमावली राखिएको जनाइएको छ ।


