२०८२ चैत १० मङ्गलवार , ०६:०८:३६ बजे

Sajhamanch
'

‘मैले महाधिवेशनको गाडी हाँके, अब रोकिंदैन, विशेष महाधिवेशन गरेर कमजोरी भएको छैन’ : सभापति थापा

मङ्गलवार, चैत १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब पार्टीको सिंगो पंक्ति महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने आग्रह गर्नुभएको छ ।

मंगलबार आज पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले महाधिवेशनको गाडी आफूले हांकेको र अब त्यो गाडि पछि नहट्ने जिकिर पनि गर्नुभएको छ ।

अब हुने महाधिवेशनमा सहभागी हुने क्रममा को विशेष महाधिवेशनमा सहभागी भयो वा को भएन भन्ने कुरालाई लिएर मनमा दुविधा राख्न नहुने पनि उहाँको भनाई छ ।

‘एउटा विशिष्ट अवस्थामा विशेष महाधिवेशन भयो । त्यो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आयो । हामीले निर्वाचनमा भाग लियौं । विशेष अधिवेशन अगाडि, पछाडि कसले भाग लियो कसले लिएन भन्ने कुरा सकियो’ बैठकलाई सम्बोधन गर्दै उहाँले प्रष्ट पार्नुभयो ।

महाधिवेशनमा कसैलाई पनि पूर्वाग्रहको रुपमा हेर्न नहुने र आफूले सबैलाई सहभागी गराएर अघि बढ्ने सभापति थापाको भनाई छ ।

‘मैले सभापतिको रुपमा गाडी हाँकेँको छु । अब यो गाडी रोकिंदैन । मैले भनेँ यो गाडीमा अब को विशेष अधिवेशनमा हुनुहुन्थ्यो र को हुनुहुँदैन थियो भन्ने कुराबाट कुनै पूर्वाग्रह पनि हुँदैन’ सभापति थापाले थप्नुभयो, ‘मैले उपसभापति र केही नेताहरूसँग आग्रह पनि गरेको छु । हामी सबैलाई सहभागी गराएर त्यसलाई अघि बढाएर लैजान्छौं ।’

आफ्नो सम्बोधनमा उहाँले आफूले कुनै हतार र हतासमा आएर राजीनामा नदिएको प्रष्टीकरण पनि दिनु भएको छ । पार्टीको विधान अनुसार आफूले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पेश गरेको उहाँको जिकिर छ ।

‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर उपसभापति विश्वप्रकाश शर्मासमक्ष आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ,’ थापाले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था यही हो । सभापतिले राजीनामा दिन चाहेमा उपसभापति समक्ष दिने र उपसभापतिले केन्द्रीय समितिमा प्रस्तुत गर्ने । यसमाथि छलफल पनि भइसकेको छ ।’

उहाँले यो कुनै दबाब र ग्लानीको विषय नभएको भन्दै जवाफदेहीतालाई ध्यानमा राख्दै राजीनामा दिएको स्पष्ट पार्नुभयो ।

‘मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन । हतास भएर राजीनामा दिएको पनि होइन । विशेष महाधिवेशन नगरी निर्वाचनमा गएका थियौं भने त्यो निर्वाचनमा हामीले कसरी सामना गर्नुपर्थ्यो भन्ने कुरा निर्वाचित भएका र हामी निर्वाचित नभएकाले पनि बुझेका छौं,’ थापाको भनाई छ ।

साथै, विशेष महाधिवेशन गरेर कमजोरी गर्‍यौं कि भन्ने कुरामा अलमलिएर आफू राजीनामाको निर्णयमा नपुगेको उहाँको जिकिर छ ।

‘विशेष महाधिवेशन गरेर कहिंकतै कमजोरी गर्‍यौं कि भन्ने कुराको बारेमा एक निमेष पनि अलमलिएर यो निर्णयमा पुगेको थिइनँ’ सभापति थापाले भन्नुभयो, ‘कुनै दबाबबाट पनि यो निर्णयमा पुगेको थिइनँ ।’

सम्बन्धित खबर