
काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपूर्ण रणनीतिको आलोचना गरेको छ । परमाणु कार्यक्रममा अमेरिका र इरानबीच भइरहेको वार्ताका क्रममा इरानले डोनाल्ड ट्रम्पको धम्कीको कडा आलोचना गरेको हो ।तेहरानले सम्झौता सम्मानजनक कूटनीतिबाट मात्र सम्भव हुने बताएको छ ।
ट्रम्पले मंगलबार आफ्नो सबैभन्दा लामो ‘स्टेट अफ द युनियन’ भाषणमा इरानबारे उल्लेख गरेका थिए । १०० मिनेटभन्दा लामो भाषणमा ट्रम्पले इरानबारे भनेका थिए, “उनीहरूले यस्ता मिसाइलहरू विकास गरिसकेका छन्, जसले युरोप र हाम्रा विदेशी अड्डाहरूलाई खतरामा पार्न सक्छन् । उनीहरू यस्ता मिसाइल बनाइरहेका छन्, जुन चाँडै अमेरिकासम्म पुग्न सक्छ ।”ट्रम्पका अनुसार उनीहरूलाई भविष्यमा आफ्नो हतियार कार्यक्रम र खासगरी परमाणु कार्यक्रम पुनर्बहाली नगर्न चेतावनी दिइएको छ ।
बुधबार तेहरानले ट्रम्पका यी बुँदाहरूलाई ठूलो झुटको संज्ञा दिएको छ । जेनेभामा अमेरिकासँग परमाणु कार्यक्रममा वार्ता गरिरहेको इरानले सम्झौता ‘सम्मानजनक कूटनीति’बाट मात्र निस्कने पनि भनेको छ ।तेहरानमाथि दबाब बढाउन ट्रम्पले यस समयमा मध्यपूर्वमा ठूलो संख्यामा अमेरिकी सेना तैनाथ गरेका छन् ।ट्रम्पले यदि, इरानसँगको वार्ता असफल भयो भने उनले आक्रमण गर्न सक्ने लगातार धम्की दिइरहेका छन् ।अमेरिकी समाचार एजेन्सी ‘एसोसिएटेड प्रेस’ले स्याटेलाइट तस्बिर उपलब्ध गराउने कम्पनी ‘प्लानेट ल्याब्स पीबीसी’का केही तस्बिरहरूको समीक्षा गरेको छ । ती तस्बिरहरूमा बहराइनमा अमेरिकी युद्धपोतहरूको ठूलो जमघट देखिएको छ । बहराइन अमेरिकी नौसेनाको पाँचौँ जहाजहरुको समूहहरुकोे आधार शिविर रहेको छ ।


