
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको बताउनु भएको छ ।
महासंघले प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका नेतृत्वसँग गरेको सर्वपक्षीय संवादमा बोल्दै उनले यस्तो बताउनु भएको हो । २४ भदौको दिन लुटपाटमा संलग्नमाथि कारबाही गर्न उहाँले माग गर्नुभयो ।
उहाँले निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्ने विधि भएको बताउनु भयो । निर्वाचनका लागि नेपाल सरकारको अग्रसरता र मेहनत प्रशंसनीय रहेको उहाँले बताउनु भयो ।
देश निर्वाचनमा अगाडि बढेको भन्दै उनले समद्धिका लागि निजी क्षेत्रको संलग्नता भने अझै पनि ओझेलमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्वाध रूपमा काम गर्ने वातावरण बनेको छैन, गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको छ ।’ निजी क्षेत्रको सम्मान नभएसम्म मुलुकमा लगानी नआउने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘लगानीबिना रोजगारी हुँदैन । रोजगारी नभए आय बढ्दैन, शिक्षा र स्वास्थ्य शिक्ष सर्वसुलभ बनाउन राजस्व बढ्नु पर्छ । राजस्व बढ्न सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ ।’
डेढ वर्षयता सरकार डेढ खर्ब घाटामा रहेको स्मरण गराउँदै उनले बैंकहरुमा ११ खर्ब लगानी तरलतामा बसिरहेको बताउनु भयो । राजस्वको रकमले चालु खर्च पनि नपुग्ने अवस्था आएको भन्दै उहाँले पूर्वाधारमा लगानी हुन नसकेको बताउनु भयो । निजी क्षेत्रका पूर्वाधारमा अवरोध हुने गरेको भन्दै उहाँले प्रश्न गर्नुभयो, ‘उद्योग कलकारखाना नभए रोजगारी कसरी सम्भव होला ?
सरकारले वर्षको ३ सयदेखि ३५ सय रोजगारी दिने र बाँकी सबै निजी क्षेत्रले दिने समेत अध्यक्ष ढकालले बताउनु भयो । युवा विदेशिन बाध्य रहेको भन्दै यी नै विषयमा झक्झक्याउन यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
महासंघले शान्ति स्थायित्वमा सामूहिक पहल आवश्यक परेको उहाँको भनाइ छ । ‘हामीले सबै पक्षबाट सामूहिक प्रतिबद्धता चाहेका छौं,’ उहाँले भन्नुभयो । युवा उद्यगशीलता विकास योजना कार्यान्वयनको माग गर्नुभयो । तीन दशकदेखि शासन सत्ता सम्हालेका दललाई युवाका माग समीक्षा गर्न उहाँले आग्रह गर्नुभयो ।


