२०८३ वैशाख ८ मङ्गलवार , ०२:४६:०१ बजे

Sajhamanch
'

बुर्किना फासोले १०० भन्दा धेरै एनजीओ र नागरिक समाज समूहलाई विघटन गर्‍यो

शुक्रवार, वैशाख ४, २०८३

झापा । बुर्किना फासोको सैन्य सरकारले १०० भन्दा धेरै गैरसरकारी संस्था (एनजीओ) र नागरिक समाज समूहहरूलाई विघटन गर्न आदेश दिएको छ ।

सरकारले सबै राजनीतिक दलहरू विघटन गर्ने आदेश जारी गरेको महिनौँपछि एनजीओ र नागरिक समाज समूहहरूलाई विघटन गर्ने आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सरकारको यो कदमलाई अधिकार समूहहरूले आधारभूत अधिकारमाथि आक्रमण भनिरहेका छन् । एम्नेस्टी इन्टरनेशनलले पछिल्लो कदमले देशको नागरिक समाजमाथि तीव्र दमन देखाएको बताएको छ ।

क्षेत्रीय प्रशासन तथा गतिशीलता मन्त्रालयले बुधवार ११८ गैरसरकारी संस्था र सङ्घहरूलाई वर्तमान कानूनी प्रावधानअनुसार विघटन गर्ने र तिनीहरूको गतिविधिमा प्रतिबन्ध लगाउने घोषणा गरेको खबरमा उल्लेख छ । यी सबै सङ्घ–संस्था बुर्किना फासोमा आधारित छन् र धेरैजसो मानव अधिकारको रक्षामा संलग्न छन् ।

सन् २०२२ को विद्रोहबाट सत्ता सम्हालेदेखि इब्राहिम ट्राओरको नेतृत्वमा रहेको सैन्य सरकारले गैरसरकारी संस्था, युनियन, भेला हुने स्वतन्त्रता र सैन्य शासनको विरोध गर्नेहरूमाथि कारबाही गरेको छ ।

गएको जुलाईमा ट्राओरले अधिकार समूह र सिन्डिकेटहरूको कामलाई प्रतिबन्धित गर्ने कानूनमा हस्ताक्षर गर्नुभएको थियो । त्यसको एक महिनाभित्र सरकारले २१ अधिकार समूहको अधिकार खारेज गरेको थियो भने प्रशासनिक कारणहरू उद्धृत गर्दै अन्य १० अधिकार समूहलाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

सम्बन्धित खबर