
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ ।
निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका लागि बोलाउनु भएको हो ।
छलफल दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने एक सांसदले जानकारी दिनुभयो । ‘दलको कार्यालयबाट सहमहामन्त्रीले छलफलका लागि बोलाएको सूचना आएको छ,’ ती सांसदले भन्नुभयो, ‘दिउँसो ३ बजे बोलाइएको छ ।’
यसअघि संयोजक रसाइलीले शुक्रबार (४ चैत) मा कांग्रेसले दलको नेता चयन गर्ने कार्यतालिका रहेको जानकारी सञ्चारमाध्यमहरूलाई दिनु भएको थियो ।
उहाँले २ चैतमा निर्वाचन कार्यतालिका प्रकाशित हुने पनि बताउनु भएको थियो । तर, कांग्रेसले कार्यतालिका भने ल्याएको छैन ।


