२०८३ वैशाख ८ मङ्गलवार , ०२:४३:१९ बजे

Sajhamanch
'

म सहजै एक्सेस दिने मान्छे हो, नयाँ नजिर स्थापित गर्नुपर्छ : सभामुख

शुक्रवार, वैशाख ४, २०८३

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसदीय गतिविधि र सार्वजनिक पहुँचलाई सरल एवं पारदर्शी बनाउन आफू प्रतिबद्ध रहेको बताउनु भएको छ ।

शुक्रबार सिंहदरबारमा आयोजित पत्रकारहरूसँगको अन्तर्क्रियामा बोल्दै उहाँले आफू सहजै पहुँच (एक्सेस) दिने व्यक्ति भएको उल्लेख गर्दै विगतका कतिपय पुराना नजिरहरूलाई छाडेर समाजको आवश्यकताका आधारमा नयाँ नजिर स्थापित गर्ने बताउनु भयो ।

अन्तर्क्रियाका क्रममा पत्रकारहरूले उठाएका प्रश्नको जवाफ दिँदै सभामुख अर्यालले संसदमा देखिएका समस्याहरूलाई कहाँ र कसरी समाधान गर्न सकिन्छ भन्नेमा आफ्नो गम्भीर ध्यान गएको बताउनु भयो। हालको संसद कक्ष साँघुरो भएका कारण केही व्यवस्थापकीय कठिनाइ देखिएको स्वीकार गर्दै उहाँले भन्नुभयो, ‘अहिलेको संसद् भवन नभएकाले संसद कक्ष साँघुरो छ, त्यसैले केही समस्या भएको हो । बैठक कक्षको उचित व्यवस्थापन भएपछि यी सबै कुरा सुध्रिनेछन् ।’

सभामुख अर्यालले नागरिक र सञ्चारकर्मीका लागि संसद्‌लाई खुला र मैत्रीपूर्ण बनाउने योजना सुनाउनु भयो । पत्रकारहरूले सिंहदरबारको गेटमा भोग्नुपरिरहेको प्रवेश समस्याका बारेमा उहाँले सुरक्षा निकायसँग समन्वय गरेर समाधान खोज्ने आश्वासन दिनुभयो ।

गेटबाट पत्रकार छिर्न नदिएको विषय सुरक्षा दृष्टिकोणले हेरिने भए पनि आफूले सम्बन्धित पक्षलाई बोलाएर छलफल गरी यसमा सुधार ल्याउने उहाँले बताउनु भयो ।

साथै, संसदीय समिति र संसद् बैठकमा पत्रकारहरूको प्रवेशलाई अझ सहज र व्यवस्थित बनाउन आफूले सचिवालयसँग तत्काल छलफल अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सम्बन्धित खबर