२०८२ पौष १५ मङ्गलवार , ०२:२९:३१ बजे

Sajhamanch
'

दलहरुले समानुपातिकतर्फको बन्दसूची बुझाएसँगै चुनाव सुनिश्चित बन्दै

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते तोकिएको चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योल कम भएको छ ।

राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवार सूची बुझाएसँगै चुनावको सुनिश्चितता बढेको हो । यसअघि शनिवार प्रधानमन्त्री सुशीला कार्कीसँग मुख्य तीन दल कांग्रेस, एमाले र नेकपाको भेटवार्ताले चुनावको आशङ्का हटाउन मद्दत गरेको थियो ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार आइतवार र सोमवार दलहरुले रातारात उम्मेदवारको बन्दसूची बुझाएपछि देश अब चुनावमा होमिएको छ । संसद पुनर्स्थापनाको बाटो हेरिरहेका एमाले र कांग्रेस लगायतका दलहरु पनि अब चुनावमा मात्रै केन्द्रित हुने बाटो खुलेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग कुलमान घिसिङको उज्यालो नेपाल पार्टी पनि जोडिएपछि नवयुवाहरुमा उत्साह बढेको छ । यो उत्साहले चुनावी सुनिश्चिततालाई थप बल पुगेको छ ।

समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन हिजो निर्वाचन आयोगमा नयाँ पुराना दलका नेता–कार्यकर्ताको भिड नै लाग्यो । आयोगमा रातभरजसो नै चहलपहल थियो । विघटित संसद्का ठूला–साना तथा नयाँ खुलेका सबैजसो दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना सांसद समानुपातिक प्रणालीबाट छानिन्छन् । दलले प्राप्त गर्ने मतका आधारमा सिट निर्धारण भएपछि बन्दसूचीको ‘क्लस्टर’ बाट क्रम सङ्ख्याअनुसार उम्मेदवारलाई निर्वाचित गर्ने व्यवस्था छ । कानूनी व्यवस्थाअनुसार समानुपातिकमा कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्ने दलबाट मात्र उम्मेदवार निर्वाचित हुनेछन् ।

दलहरुले अहिले बुझाएको बन्दसूची छानबिन गरी आवश्यकताअनुसार सच्याउन आयोगले भोलिदेखि २० गतेसम्मको समय तोकेको छ । राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची संशोधन गरेर पुस २१ गतेदेखि २७ पुसभित्र बुझाउनुपर्नेछ ।

निर्वाचन कार्यतालिकाअनुसार बन्दसूचीबाट कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहे पुस २८ गते निवेदन दिनुपर्नेछ । उम्मेदवारले नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनीतिक दललाई आयोगले २९ गते गराउनेछ ।

यस्तै उम्मेदवारले नाम फिर्ता लिएका कारण रिक्त रहेको ठाउँमा अर्को उम्मेदवारको नाम पठाउन पुस ३० गतेदेखि माघ २ गतेसम्मको समय तोकिएको छ । चुनावी कार्यतालिका अनुसार आयोगले माघ ४ गते बन्दसूचीको नामावली प्रकाशन गर्नेछ । दाबी विरोध र आवश्यक संशोधनपछि माघ २० गते अन्तिम बन्दसूची प्रकाशन हुनेछ ।

सम्बन्धित खबर