
झापा । अनेरास्ववियुले मेची-महाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ गरेको छ । झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दिपक धामीले अभियानको शुभारम्भ गरेका हुन् ।
अनेरास्ववियुको झण्डा विद्यार्थीहरुलाई हस्तान्तरण गर्दै मंगलवार अभियान शुभारम्भ भएको घोषणा गरिएको छ । अभियानमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
सोही कार्यक्रममा अनेरास्ववियु कोशी प्रदेशले पुरस्कार वितरण गरेको छ । ‘लागुऔषध मुक्त समाजः हाम्रो अभियान’ विषयक अनलाइन वक्तृत्वत्वकला प्रतियोगितामा उत्कृष्ट ठहरिएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
अनेरास्ववियु कोशी प्रदेश कमिटीद्वारा आयोजित खुला डिजिटल अनलाइन वक्तृत्वकला प्रतियोगितामा ९९ जनाले प्रतिष्पर्धा गरेकाेमा ६ जना उत्कृष्ट छानिएको निर्णायक गाेपाल काफ्लेले घाेषणा गरे । प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य तथा काेशी प्रदेशका सहइन्चार्ज काफ्लेसहित प्राडा गंगा अधिकारी र डा कुमार सुवेदीले निर्णायककाे जिम्मेवारी पाएका थिए ।

जसअनुसार तेह्रथुम जिल्ला छथरस्थित सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी तृप्ति भण्डारी प्रथम भइन् भने खाँदवारीस्थित सूर्य आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सदिक्षा तामाङ दाेस्राे र मोरङ सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा अध्ययनरत इलामका सुमन ढुङ्गानालाई तेस्राे घाेषणा गरियाे । उनीहरुलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको कोशीका अध्यक्ष नारायण पोखरेलले जानकारी दिए ।
यस्तै, सान्तवना पुरस्कार कनकाईस्थित हरिकुल नमूना माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत प्रिन्शा तिम्सिना, धुलावारी माविको कक्षा ८ मा अध्ययनरत कृतिका शिवाकोटी र पब्लिक हाईस्कूल धरान १२ चतारालाइन कक्षा १० मा अध्ययनरत तमन्ना वान्तवा राईलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीले पुरस्कार वितरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संगठनका अध्यक्ष दिपक धामीले अनेरास्ववियुका विद्यार्थीहरुको काँधमा देश बचाउने जिम्मेवारी आएको बताए । उनले देशभित्र एकता भाँड्नेहरु विरुद्ध प्रतिकारमा उत्रिनुपर्ने अवस्था आएको बताए ।
युवाहरुलाई आन्दोलनका नाममा देश जलाउने काममा दुरुपयोग गरेको भन्दै उनले भने – अनेरास्ववियुमा आवद्ध विद्यार्थी देश जलाउनेका काममा कहिल्यै पनि लाग्न सक्दैन । देशको रक्षार्थ अनेरास्ववियु सधैं अग्रभागमा उभिनेछ ।
युवा विद्यार्थीहरुलाई अराजकताविरुद्ध सचेत रहन आग्रह गर्दै उनले अनेरास्ववियुले देशमा आगो लगाउनेहरुका पक्षमा ताली बजाउन नसक्ने उद्घोष गरे । हामी देश जल्दा ताली बजाउने युवा विद्यार्थी उत्पादन गर्दैनौं, उनले भने, हामी राष्ट्रभक्त युवा विद्यार्थीहरुको संगठन हो, अनेरास्ववियु ।
उनले विद्यार्थीहरुलाई अनलाईन वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाएकोमा धन्यवाद दिदैं देशको भूमिको माया गर्न आग्रह गरेका छन् । उनले देशको भूमि, सम्पदा र सार्वभौम रक्षाका लागि अनेरास्ववियुमा गोलबन्ध हुन सूझाव दिएका हुन् ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले अनेरास्ववियुको इतिहास गर्विलो रहेको बताए । प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै अध्यक्ष खतिवडाले नेपाली विद्यार्थी आन्दोलनको मुल प्रवाह अनेरास्ववियुमा गोलबन्ध हुन आग्रह गरेका छन् ।
युवाका नाममा देशलाई पछि धकेल्न गरिएको आन्दोलन प्रतिगमन भएको उनको भनाई थियो । भदौं २३ गते दिउँसोसम्म आन्दोलन भएपनि त्यसपछि प्रतिगमन भएको उनले बताएका हुन् ।
अध्यक्ष खतिवडाले भावनामा बहकिएर युवा विद्यार्थीहरु कहिल्यै पनि दुरुपयोग हुन नहुने बताए । जेनजीका नाममा धेरै अपराध भएको बताउँदै उनले भने – शहीदले के गल्ती गरेका थिए ? किन उनीहरुको शालिक तोडियो ? देशका राष्ट्रका धरोहर किन जलाइयो ?
अब देशलाई निकास दिन प्रतिनिधिसभाको पुर्नस्थापना गर्नुपर्ने बताउँदै खतिवडाले गौरीबहादुर कार्की आयोग खारेज गर्नुपर्ने, टिओवी लेखेर आन्दोलन गर्ने र आगजनी र तोडफोडमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन् । उनले प्रतिगमनलाई आन्दोलन भन्दै झुक्याउने काम नगर्न आग्रह गरे ।
यस्तै, अनेरास्ववियुको महासचिव अञ्जना शिवाकोटीले अनेरास्ववियु अब हरेक शैक्षिक संस्थाहरुको कक्षा–कक्षामा पुग्ने बताइन् । देशमा बढ्दै गइरहेको अराजकतालाई तह लगाउन अनेरास्ववियुलाई थप बलियो संगठनको रुपमा स्थापित गर्न कक्षा कक्षामा संगठन निर्माण गरिने उनको भनाई थियो ।


