
विराटनगर । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास व्यक्त गर्नु भएको छ।
मंगलबार कोशी प्रदेशसभाको भवन र बन्दै गरेको भवन निरीक्षण गर्न पुगेका विघटित प्रतिनिधिसभाका सभामुख घिमिरेले यस्तो प्रतिक्रिया दिनु भएको हो ।
‘न्यायालयमा गएको छ, हामी आशावादी छौँ, न्याय ठीक ढंगबाट हुँदाखेरि संसद् पुनर्स्थापना भएर जान्छ,’ सभामुख घिमिरेले भन्नुभयो ।
प्रतिनिधिसभा जसरी विघटन भएको छ त्यसरी विघटन हुन सक्ने परिकल्पना संविधानले नगरेको घिमिरेको भनाइ छ । ‘हाम्रो संविधानले यसरी विघटन गर्न दिँदैन,’ उनी थप्छन्, ‘संविधान सम्मत संसद् भंग गर्ने ठाउँ छैन र संसदबाहिरबाट प्रधानमन्त्री बनाउने पनि ठाउँ छैन ।’
जेनजी आन्दोलनपछि २७ भदौमा प्रतिनिधिसभा विघटन भएको थियो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर अर्को निर्वाचनको मिति तय गरेका छन् । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ का लागि तय भएको छ ।
सभामुख घिमिरे भने अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै संविधानसम्मत नरहेको बुझाइमा हुनुहुन्छ । यही बुझाइका साथ सभामुख घिमिरेले सर्वोच्च अदालतमा समेत लिखित जवाफ पठाएका छन् । जसमा अन्तरिम सरकार गठनका सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलको समेत भूमिकामा समेत प्रश्न उठाइएको छ ।
‘राष्ट्रपतिले गरेको यो (अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन) निर्णयलाई कुनै पनि सन्दर्भमा कानुनी वैधता प्रदान गर्न मिल्दैन,’ सभामुख घिमिरेको लिखित जवाफमा भनिएको छ, ‘राष्ट्रिय एकताको प्रवर्द्धन र संविधान पालनको दायित्वलाई अनदेखा गरी राजनीतिक दृष्टिकोणले संविधानको अपव्याख्या गरी संवैधानिक प्रक्रिया उल्लंघन गर्नु कानुनी दृष्टिले असंगत मात्र होइन, लोकतान्त्रिक राज्यको मूलभूत संरचनाको पनि हनन हो ।’
आफूले सर्वोच्च अदालतलाई दिएको लिखित जवाफकै वरिपरी रहेर सभामुख घिमिरेले मंगलबार कोशी प्रदेश पुगेर अभिव्यक्ति दिनु भएको हो।
जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशसभा भवन जलेको थियो ।
प्रदेशसभा भवन देवकोटा चोक र अस्पताल चोकको बीचमा छ । भवन संरचना जलेर पुन प्रयोग गर्न नमिल्ने भएपछि प्रदेशसभा भवन र सचिवालय कटहरी गाउँपालिका १ मा रहेको तरकारी बजारमा सरेको छ ।
सभामुख घिमिरले बन्दै गरेको प्रदेशसभा र सचिवालयको पनि निरीक्षण गर्नु भएको छ। उहाँलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट र प्रदेशसभा सचिव सुदर्शन खड्काले बन्दै गरेको र जलेको भवन निरीक्षण गराउनु भएको हो ।
प्रदेशसभा निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा संसद पुनर्स्थापना हुने बताउनु भएको हो ।


