
- उमानाथ भण्डारी
चुलाचुली । इलामको चुलाचुली गाउँपालिकाको लागि चालू आर्थिक वर्षका लागि कोशी प्रदेश सरकारबाट विनियोजित बजेट कार्यान्वयनका लागि स्थानीय बासिन्दाहरु क्रियाशील रहेको पाइएको छ ।
वडा नम्वर १ मा चालू आर्थिक वर्षका लागि छनौट भएका योजना र ती योजना निर्माण गर्न विनियोजित रकम कार्यान्वयनका लागि सम्बन्धित कार्यालयका कर्मचारीहरु पनि सक्रिय भएका हुन् ।
गाउँपालिकाको वडा नं. १ मा छनौट भएका योजना अन्तर्गत माङ्क्तोक मार्ग कालोपत्रे दुई करोड पचास लाख रुपैयाँ, बाँघद्वार खोलामा बेलिब्रिज निर्माण दुई करोड रुपैयाँ, शिवज्योति आधारभूत विद्यालय भवन निर्माण तीस लाख रुपैयाँ कार्यान्वयन सुरु भएका हुन् ।
यस्तै, माकृहाङ मार्गमा ट्रस्टब्रिज निर्माण दश लाख रुपैयाँ, कान्छीबजार दक्षिण सडक स्तरउन्नति गर्न दश लाख रुपैयाँ रकम समेत विनियोजन भएकोले सो योजनाहरुलाई समयमै सम्पन्न गर्न स्थानीय उपभोक्ताहरुका साथै सम्बन्धित कार्यालयहरु लागिपरेका पाइएको हो ।
योजनाहरुको प्रारम्भिक फिल्ड नाप जाँच कार्यका लागि हिजो शुक्रबार पूर्वाधार विकास कार्यालय इलामका इन्जिनियर सोहनकुमार महासेठ र प्रशान्त राई, कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरका स्वकीय सचिव सञ्जय राई, वडा नं १ का वडाध्यक्ष पूर्ण लावती लगायत सरोकारवालाहरुको उपस्थितिमा फिल्ड नापजाँच कार्य सम्पन्न भएको छ ।
पूर्वाधार विकास कार्यालय इलामबाट प्राप्त जानकारी अनुसार आइतबारसम्ममा उल्लेखित योजनासहित अन्य योजना समेतगरी दुई दर्जन हाराहारी योजनाहरुको ठेक्का बोलपत्र सूचना आब्हान हुने छ ।


