
अर्जुनधारा । अर्जुनधारा नगरपालिका–६ झापा महनन्दचोकस्थित बालकल्याण आधारभूत विद्यालयले यसै वर्षदेखि कक्षा ८ को पठनपाठन सुरु गरेको विद्यायका हो ।पहिलो वर्षमै विद्यालयले कक्षा ८ को परीक्षामा ७५ प्रतिशत विद्यार्थी सफल गराउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमध्ये बालकल्याण आधारभूत विद्यालयले तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो। यस वर्षको नतिजाअनुसार अर्जुनधारा नगरपालिका अन्तर्गत महरानिगन्ज माध्यमिक विद्यालय ८८ प्रतिशत नतिजासहित पहिलो स्थानमा रह्यो भने भानु आधारभूत विद्यालय ७८.९५ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ। बालकल्याण आधारभूत विद्यालयले ७५ प्रतिशत नतिजासहित तेस्रो स्थान सुरक्षित गरेको हो।
अर्जुनधारा नगरपालिकामा जम्मा २९ वटा सामुदायिक विद्यालय रहेका छन्, जसमध्ये १६ वटा विद्यालयले कक्षा ८ को परीक्षामा सहभागिता जनाएका थिए।
विद्यालयका प्रधानाध्यापक डम्बर यादवका अनुसार यस विद्यालयमा अधिकांश निम्नआय भएका परिवारका विद्यार्थी अध्ययन गर्ने गर्दछन्। सीमित स्रोत–साधनका बाबजुद पनि विद्यार्थीहरूले राम्रो नतिजा ल्याउनु विद्यालयका लागि सकारात्मक संकेत भएको उनले सुनाए।“यो विद्यालय स्थापना भएको २५ वर्ष पुगेको छ। सुरुआती चरणमा धेरै चुनौती र अभावहरू सामना गर्नुपर्यो। सीमित स्रोत–साधनका बीच पनि हामीले बर्सेनि कक्षा थप्दै विद्यालयलाई अघि बढाउँदै लगेका छौं।
यो यात्रा सजिलो थिएन, धेरै दुःख र संघर्षका बीच यहाँसम्म आइपुगेका हौं।आज कक्षा ८ सम्म पठनपाठन सञ्चालन गर्दै पहिलो वर्षमै ७५ प्रतिशत नतिजा ल्याउन सफल हुनु हाम्रो लागि ठूलो उपलब्धि हो। यो सबै शिक्षक, अभिभावक र विद्यार्थीहरूको मेहनत र साथको परिणाम हो।”


