२०८३ जेठ १५ शुक्रवार , ०८:२०:०९ बजे

Sajhamanch
'

कांक्रेविहार क्षेत्रमा चुनौतीपूर्ण बन्दै वन्यजन्तु संरक्षण

शुक्रवार, जेठ १५, २०८३

सुर्खेत । नेपालकै पहिलो संरक्षित वन क्षेत्र मानिने काँक्रेविहार वन संरक्षित क्षेत्रमा वन्यजन्तुको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । वन क्षेत्रभित्र फेरि एउटा जरायो मृत फेला परेको छ ।

वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित काँक्रेविहार क्षेत्रमा पछिल्ला वर्षहरूमा जरायो मर्ने क्रम दोहोरिन थालेका छन् । स्थानीयका अनुसार केही जरायो कुकुरले लखेटेर, केही खाडलमा डुबेर तथा धेरैजसो चोरी-सिकारी वा पासोका कारण मारिने गरेका छन् ।

स्थानीय बासिन्दाका अनुसार काँक्रेविहारमा पहिले करिब ७० वटासम्म जरायो देखिने गरे पनि अहिले यो सङ्ख्या घटेर ४०–५० को हाराहारीमा झरेको अनुमान छ । वनभित्र पानी, घाँस र शान्त वातावरणको अभाव हुन थालेपछि जरायोहरू बाहिर निस्कने गरेका छन् । त्यस क्रममा उनीहरू दुर्घटना वा चोरी-सिकारीको जोखिममा पर्ने गरेका हुन् ।

स्थानीयले काँक्रेविहार क्षेत्रमा बढ्दो भीडभाड र चर्को आवाजका कारण पनि वन्यजन्तु प्रभावित भएको बताएका छन् । जरायो प्रायः साँझपख चर्न निस्कने हुँदा बाहिरिने क्रममा विभिन्न जोखिममा पर्ने गरेको उनीहरूको भनाइ छ ।

डिभिजन वन कार्यालय सुर्खेतले भने जरायोका लागि पोखरी निर्माण गरिए पनि खडेरीका समयमा पानी सुक्ने समस्या रहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी नवराज पौडेलका अनुसार पहिले निर्माण गरिएका पोखरीमा पानी टिक्न नसकेपछि अहिले दीर्घकालीन रूपमा पानी अडिने संरचना बनाउने तयारी भइरहेको छ ।

उहाँले वन क्षेत्रमा मृत भेटिएको जरायो प्राकृतिक कारणले मरेको प्रारम्भिक निष्कर्षसहित मुचुल्का उठाएर काँक्रेविहारमै गाडिएको जानकारी दिनुभयो । मृत जरायो करिब दुई वर्ष उमेरको रहेको अनुमान गरिएको छ ।

सामाजिक अभियन्ता नवराज बोहोराले काँक्रेविहार क्षेत्रमा वन्यजन्तु, चराचुरुङ्गी र वनस्पतिका लागि दिगो पानी र आहारको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । उहाँका अनुसार शान्त वातावरण मन पराउने जरायो अहिले बढ्दो मानव चहलपहलका कारण असुरक्षित बन्दै गएका छन् ।

सम्बन्धित खबर