२०८२ कार्तिक २९, शुक्रवार , १०:५०:४६ बजे

Sajhamanch
'

मधेश प्रदेशका सभामुख मण्डलद्वारा पाँच प्रदेशसभा सदस्य पदमुक्त

शुक्रवार, कार्तिक २९, २०८२

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुभएको छ । लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित रहेका भन्दै उहाँले प्रदेशसभा सदस्यहरुलाई पदमुक्त गर्नुभएको हो ।

पदमुक्त गरिएका प्रदेशसभा सदस्यहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह तथा जनता समाजवादी पार्टीका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार र शारदा शङ्करप्रसाद कलवार रहेका छन् ।

प्रदेशसभा सचिवालयले सूचना निकालेर नेपालको संविधानको धारा १८० (घ) र प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम पाँचै प्रदेशसभा सदस्यहरूको पद स्वतः रिक्त भएको जनाएको छ ।

सात वटा दलले हिजो सभामुख मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । कारबाहीस्वरुप सभामुख मण्डलले पाँच जना सांसदलाई पदमुक्त गर्नुभएको हो ।

कात्तिक २२ गतेको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णयविपरीत प्रदेशसभामा संसदीय दलको नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको, एक दलको निर्देशनबमोजिम समाभुखले पटकपटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना सभा चलाएको भन्दै सात दलले सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

सम्बन्धित खबर