
भद्रपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटको ११७औं जन्म जयन्ती आज विशेष कार्यक्रमको आयोजना गरी चन्द्रगढीमा मनाइएको छ ।
देवकोटा स्मारक संरक्षण समिति भद्रपुर ९ चन्द्रगढीले बाल कविता प्रतियोगिता, उतकृष्ट विद्यार्थी सम्मान तथा मनोरम काव्य सम्मान कार्यक्रम गरेको हो ।
संरक्षण समितिका अध्यक्ष राजु बरालको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कवि, लेखक तथा पत्रकार राजेश ढुंगानालाई २० हजार नगद राशीसहित मनोरम काव्य साधना पुरस्कारबाट पुरस्कृत गरियो ।
यसरी नै कवि गणेशप्रसाद नेपाललाई स्रष्टा सम्मानबाट सम्मानित गरियो भने कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने सुप्रभा नेपाललाई एआई वैज्ञानिक डा. परशुराम दाहालले स्थापना गरेको जेहेन्दार छात्रबृत्ति रकमसहित सम्मान गरियो ।
समितिका उपाध्यक्ष ज्ञानेन्द्र कटुवालले स्वागत गरेको कार्यक्रममा बाल कविता प्रतियोगितामा श्रद्धा रेग्मी प्रथम, सुमन रेग्मी द्वितीया, पूर्णिमा रिमाल तृतीय र रीमा सापकोटाले सान्त्वना पुरस्कार प्राप्त गरे ।
सचिव युवराज ढकालले सञ्चालन गरेको कार्यक्रममा पुरस्कार स्थापना गर्ने दाता परिवारबाट नेपाल सरकारका सहसचिव कुमार दाहालले मन्तव्य राख्दै आफ्नो जन्मभूमिको उन्नतिका लागि साहित्य, कला र शिक्षा क्षेत्रमा विकास गर्न सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।