
काठमाडौं । आज ३३ जिल्लाका विभिन्न नदी खोलामा बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती प्रदेशका दोलखा, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुलीमामा बाढीको मध्यम जोखिम छ ।
त्यस्तै कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङगा, उदयपुर, सोलुखुम्बुमा पनि बाढीको खतरा छ ।
गण्डकी प्रदेशका लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी तथा लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी पश्चिम, प्युठान, बर्दियामा बाढीको जोखिम छ । सुदूरपश्चिम प्रदेशका डोटी र बैतडीमा पनि बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बाढीको जोखिम भएका ठाउँका नदी खोला तथा तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक/दुई ठाँउमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै राति कोशी प्रदेशको पहाडी भू्भाग तथा मधेस प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पछिल्लो ६ घण्टामा तनहुँ, कञ्चनपुर, बर्दिया, नवलपरासी, कास्की, बाग्लुङलगायतका ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ ।