
झापा । भारतले रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली सङ्घ (ईयू) बाट उठाइएको प्रश्नहरूप्रति आधिकारिक जवाफ दिएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै भारतको भनाइ सार्वजनिक गर्नुभएको हो ।
उहाँले यूक्रेन युद्ध शुरू भएदेखि रुसबाट तेल आयातको विषयमा अमेरिका र युरोपेली सङ्घले भारतलाई निशाना बनाउँदै आएका बताउनु भएको बीबीसी हिन्दीले जनाएको छ ।
युद्धका कारण परम्परागत आपूर्ति मार्ग युरोपतिर मोडिएको अवस्थामा भारतले रुसबाट तेल आयात शुरू गरेको भारतको जवाफ छ ।
युद्धको समयमा अमेरिका स्वयम्ले विश्वको तेल बजारमा स्थिरता कायम रहने गरी भारतलाई तेल आयात गर्न प्रोत्साहन गरेको भारतीय पक्षको बुझाइ छ ।
आफ्ना उपभोक्ताहरूलाई सस्तो र स्थिर उर्जा उपलब्ध गराउन आयात गर्ने र यो विश्व बजारको अवस्थाले बनाएको आवश्यकता भएको भारतको प्रतिक्रिया छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार युरोप–रुस व्यापार केवल उर्जामा मात्रै सीमित छैन । यसमा खनिज पदार्थ, रसायन, फलाम, स्टील, मेसिन र यातायातका सामानहरू पनि यस व्यापारमा समावेश छन् ।
अमेरिकाको सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्ता जायसवालले अमेरिका अझै पनि आफ्ना परमाणु उद्योगका लागि रुसबाट यूरेनियम हेक्साफ्लोराइड आयात गर्ने गरेको आरोप लगाउनु भएको छ ।
साथै, विद्युतीय गाडी उद्योगका लागि आवश्यक सामान र रसायनहरू पनि रुसबाट अमेरिका आउने गरेको उहाँको भनाइ छ ।
यस कारण भारतलाई निशाना बनाउनु अन्यायपूर्ण र अविवेकी कदम भएको जायसवालले स्पष्ट पार्नुभएको खबरमा उल्लेख छ ।