२०८२ साउन १९, सोमवार , १२:५२:२५ बजे

Sajhamanch
'

भिजिट भिसामा विदेश जाने महिलाको सङ्ख्या बढ्दो

सोमवार, साउन १९, २०८२

काठमाडौं । भिजिट भिसामा विदेश जाने महिला यात्रुहरूको सङ्ख्या बढेको छ । सन् २०२१ मा १४ दशमलव ४ प्रतिशत रहेकोमा सन् २०२४ मा बढेर ४२ दशमलव १ प्रतिशत पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, खासगरी यूएई र थाइल्यान्डजस्ता देशमा महिला यात्रुहरुको सङ्ख्या उल्लेख्य रहेको तथ्याङ्क छ । त्यसैगरी, यूएई, ओमान र कुवेत मात्र यस्ता गन्तव्य हुन् जहाँ पाँच वर्षको अवधिमा महिला यात्रुको कूल सङ्ख्या पुरुषको भन्दा बढी भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेले भिजिट भिसा प्रक्रियामा देखिएका समस्या समाधानमा विशेष कार्ययोजनासहित आफूहरु खटिएको बताउनुभयो ।

अध्यागमन सुधारको लक्ष्य भनेको प्रविधिमैत्री, सुरक्षित, कुशल, पारदर्शी र नागरिकप्रति जवाफदेही प्रणाली निर्माण गर्नुभएको उल्लेख गर्दै उहाँले अनिमात्र राष्ट्रिय सुरक्षाको रक्षा गर्न र आफ्ना तथा विदेशी नागरिकको अधिकार र मर्यादाको सम्मान हुने बताउनुभयो ।

दलालको लहलहैमा भिजिट भिसामार्फत सेटिङमा विभिन्न देशहरुमा रोजगारीका लागि जाने सर्वसाधारण अनेकौ तहमा ठगिँदै आएका छन् । खासगरी श्रम प्रक्रियाको झन्झट र ढिलासुस्ती, भिजिट भिसामा विदेश जान छिटोछरितो देखिनु, सरकारी प्रतिबन्धलाई छल्न, लागत र आर्थिक प्रलोभनलगायत कारणले सर्वसाधारण श्रम स्वीकृति लिएर कामका लागि विदेश जान मन पराउँदैनन् । सन् २०२४ मा दुई लाख ७१ हजार ३०५ जना नेपालीले भिजिट भिसामा विभिन्न देशको यात्रा गरेका थिए ।

सन् २०२३ मा दुई लाख दुई हजार ४१९ ले यात्रा गरेका थिए, भने सन् २०२२ मा एक लाख ७५ हजार ७९० र ९० हजार १८१ नेपालीले भिजिट भिसामा यात्रा गरेको विभागको तथ्याङ्क छ ।

यो सङ्ख्या सन् २०२५ को जुलाई सम्ममा एक लाख ३४ हजार ८२५ पुगेको छ । भिजिट भिसामा जाने प्रमुख गन्तव्य मुलुकहरुमा यूएई, थाईल्यान्ड, ओमान, कतार, मलेशियालगायत रहेका छन् ।

सम्बन्धित खबर