
काठमाडौं । सौर्य एअरलाइन्सको दुर्घटनाग्रस्त नाइन–एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजको जाँचबुझ गर्न गठित आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ ।
आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई समितिको अन्तिम प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले कुनै पनि मुलाहिजा नराखेर प्रतिवेदन आएको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोगले प्रतिवेदन पेश गरेलगत्तै मन्त्रालयले आफ्नो ‘वेबसाइट’ मार्फत प्रतिवेदन सार्वजनिक गरेको छ ।
गएको साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा जहाजमा रहेका १८ जनाको ज्यान गएको थियो । जहाज दुर्घटनामा पाइलट मनीष शाक्य भने बाँच्न सफल हुनुभएको थियो ।
जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।