
झापा । दक्षिण सिरियामा भएको हिंसामा झन्डै ६०० जनाको ज्यान गएको मानव अधिकार सङ्गठनले जनाएको छ ।
दक्षिण सिरियामा भएको पछिल्लो हिंसामा ५९४ जनाको ज्यान गएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
बेलायतमा रहेको यो संस्थाले गएको आइतवारदेखि सुवेदा प्रान्तमा शुरू भएको हिंसा चरम क्रूरताले भरिएको बताएको छ । एसओएचआरले यस हिंसामा ड्रुज समुदायका ३०० जनाले ज्यान गुमाएका बताएको छ । यसमा १४६ लडाकू र १५४ जना सर्वसाधारण छन् ।
१५४ जना सर्वसाधारणमध्ये ८३ जनालाई सरकारी सेनाले मुद्दा चलाउन नदिई तुरुन्तै हत्या गरेको अनुगमन समूहलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
संस्थाले १८ बेदुइन लडाकू र २५७ जना सरकारी कर्मचारी मारिएका जनाएको छ । यस्तै ड्रुज लडाकूहरूले कुनै मुद्दाविना नै बेदुइन समुदायका तीन जनाको हत्या गरेका छन् । बेदुइन र ड्रुज समुदायबीच झगडा भएको थियो ।
यसबाहेक इजरायली हवाई आक्रमणमा १५ अन्य सरकारी कर्मचारी मारिएका छन् । इजरायलले ड्रुज समुदायको सुरक्षाका लागि यो आक्रमण गरेको बताएको छ ।
यद्दपि बीबीसीले अझैसम्म एसओएचआरको तथ्याङ्क पुष्टि गर्न सकेको छैन ।