
झापा । अमेरिकी सरकारले ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) नामक समूहलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरेको छ । अमेरिकाको विदेश मन्त्रालयले आधिकारिक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ ।
लश्कर–ए–तैयबा (एलईटी) को मोर्चा समूह टीआरएफले पहलगाममा गएको अप्रिलमा भएको आक्रमणको जिम्मा लिएको थियो । आक्रमणमा परी एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पहलगाम घटनालाई मुम्बईको आतङ्कवादी आक्रमणपछि भारतमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण भएको बताउनुभएको छ ।
टीआरएफले भारतीय सुरक्षाकर्मीहरूमाथि विभिन्न आक्रमणहरूको पनि जिम्मेवारी लिएको छ जसमा पछिल्लो समय भएको एक आक्रमण पनि समावेश छ ।
यसअघि भारतका विदेश सचिव विक्रम मिस्रीले मे महिनाको ७ तारिखमा आयोजित पत्रकार सम्मेलनमा पहलगाम आक्रमणमा टीआरएफ समूह जिम्मेवार रहेको ठहर गर्नुभएको थियो ।
यो समूह संयुक्त राष्ट्रसङ्घबाट प्रतिबन्धित पाकिस्तानी आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबाको नकाब भएको भारतको भनाइ छ ।