२०८२ साउन १, बिहिवार , ०३:१८:५० बजे

Sajhamanch
'

इराकमा शपिङ मलमा आगलागी, कम्तीमा ६० जनाको ज्यान गयो

बिहिवार, साउन १, २०८२

झापा । इराकको कुट शहरमा रहेको एउटा शपिङ मलमा भएको आगलागीमा परेर कम्तीमा ६० जनाको ज्यान गएको छ ।

रातभर भएको आगलागीमा परी अरू थुप्रै हराएका र उनीहरूको खोजी भइरहेको इराकको सरकारी निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पाँच दिनअघि मात्रै खोलिएको शपिङ मलको पहिलो तलाबाट शुरू भएको आगोले छिटै मललाई ढाकेको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले आगो निभिसकेको र उद्धारकर्मीहरूले हराएकाहरूको खोजी गरिरहेका बीबीसीको खबरमा उल्लेख छ ।

वासित प्रान्तका गभर्नर मोहम्मद अल–मियाहीले तीन दिनको शोक घोषणा गर्दै घटनाको छानबिन गर्ने बताउनुभएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको र प्रारम्भिक निष्कर्ष ४८ घण्टाभित्र आउने अपेक्षा गरिएको गभर्नरले बताउनुभयो ।

इराकको निर्माण क्षेत्रमा सुरक्षा मापदण्डहरू प्रायः बेवास्ता गरिने भएकोले आगलागीका घटना भइरहन्छन् ।

सन् २०२३ को सेप्टेम्बरमा पनि भीडभाड भएको एउटा विवाह हलमा आगलागी भएपछि बाहिर निस्कनका लागि आतङ्कित भागदौड हुँदा कम्तीमा एक सय जनाको ज्यान गएको थियो । सन् २०२१ को जुलाईमा दक्षिणी इराकको अस्पतालको कोभिड युनिटमा आगलागी हुँदा ६० जनाभन्दा धेरैको ज्यान भएको थियो ।

सम्बन्धित खबर