
झापा । इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको देशको सहकार्य निलम्बन गरेको छ । राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग देशको सहकार्य निलम्बनका लागि कानून लागू गर्न आदेश जारी गरेसँगै सहकार्य निलम्बन भएको कतारी सञ्चारमाध्ययम अलजजिराले जनाएको छ ।
इरानको सार्वभौमिकता, क्षेत्रीय अखण्डता, आणविक सुविधा र वैज्ञानिकहरूको सुरक्षा पूर्ण रूपमा ग्यारेन्टी नभएसम्म एजेन्सीसँगको सहकार्य निलम्बन गरेको इरानले जनाएको छ ।
इरानी संसदले गएको बुधवार पारित गरेको र भोलिपल्ट संवैधानिक परिषद्ले अनुमोदन गरेको कानून संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानको राष्ट्रिय सार्वभौमिकताको उल्लङ्घन र देशको क्षेत्रीय अखण्डता साथै शान्तिपूर्ण आणविक सुविधाहरूमाथिको आक्रमणका कारण लागू भएको हो ।
इजरायलले गएको जुन १३ तारिखमा इरानका आणविक तथा सैन्य स्थलहरूसहित धेरै क्षेत्रहरूमा हवाई आक्रमणहरू गरेको थियो । जसमा वरिष्ठ कमाण्डरहरू, आणविक वैज्ञानिकहरू र धेरै नागरिकहरू मारिएका थिए ।
यस्तै जुन २२ तारिखमा अमेरिकाले तीन इरानी आणविक स्थलमा हवाई आक्रमण गरेको थियो । १२ दिनको लडाइँपछि, जुन २४ तारिखमा इरान र इजरायलबीच युद्धविराम भएको हो ।
इजरायल र अमेरिकाले आफ्नो आणविक कार्यक्रममा आक्रमण गर्दा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले विरोध नगरेको भन्दै इरान रिसाएको छ ।