२०८२ असार १६, सोमवार , १०:४०:३३ बजे

Sajhamanch
'

वार्ताअघि अमेरिकाले अब आक्रमण नगर्ने ‘ग्यारेन्टी’ गर्नुपर्ने इरानको माग

सोमवार, असार १६, २०८२

झापा । इरानका उपविदेशमन्त्रीले अमेरिकाले वार्ताअघि अब कुनै आक्रमण नहुने कुराको आश्वासन दिनुपर्ने बताउनुभएको छ । इरानी उपविदेशमन्त्री मजीद तख्त–रवान्चीले अमेरिकाले कूटनीतिक वार्ता पुनः शुरू गर्न चाहने हो भने इरानमाथि थप आक्रमण गर्ने सम्भावनालाई अस्वीकार गर्नुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले मध्यस्थकर्ताहरूमार्फत इरानलाई वार्तामा फर्कन चाहेको बताएको उपविदेशमन्त्री रवान्चीले भन्नुभयो । तर अमेरिकाले वार्ताका क्रममा थप आक्रमण नगर्ने महत्त्वपूर्ण मुद्दामा आफ्नो अडान अझै स्पष्ट नपारेको खबरमा उल्लेख छ ।

इजरायलले गएको जुन १३ मा इरानविरुद्ध सैन्य कारबाही शुरू गरेको थियो । जसका कारण दुई दिनपछि ओमनको मस्कटमा हुने तय भएको अमेरिका–इरानबीचको छैटौं चरणको अप्रत्यक्ष वार्ता रोकिएको थियो ।

गएको हप्ता अमेरिकाले इरानका तीन आणविक स्थलमा बम विस्फोट गर्दै इजरायल र इरानबीचको चलिरहेको द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न भएको थियो । अहिलेका लागि इजरायल र इरानबीच युद्धविराममा सहमति भएको छ ।

इरानी उपविदेशमन्त्री रवान्चीले युरेनियम सम्वर्द्धनमा ध्यान केन्द्रित गरिरहने पनि बताउनुभएको छ । उहाँले आणविक बम बनाउने तयारीको आरोप भने अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ ।

हिजो अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीले इरानसँग केही महिनाभित्र युरेनियम सम्वर्द्धन पुनः शुरू गर्ने क्षमता रहेको बताउनुभएको थियो ।

सम्बन्धित खबर