
झापा । इजराल र इरानबीचको युद्धविराम पूर्णरूपमा कार्यान्वयनमा आएको छ । मङ्गलवार बिहानदेखि लागू भएको युद्धविराम दुवै पक्षले कार्यान्वयन गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अप्रत्याशित रूपमा शुरू भएको इरान–इजरायल युद्ध १२ दिनपछि अप्रत्याशित रूपमै टुङ्गिएको हो ।
युद्धको १०औं दिनमा इरानी परमाणु भट्टीमा आक्रमण गर्दै अमेरिका पनि युद्धमा सहभागी भएको थियो । इरानले अमेरिकी आक्रमणको भोलिपल्ट कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै हवाई आक्रमण गर्यो । इरानको जवाफी आक्रमणपछि अब युद्ध तीव्र रूपमा फैलने र कतिपयले तेस्रो विश्वयुद्धको शुरुआत भन्दै गर्दा युद्ध नाटकीय रूपमा रोकियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यराति सामाजिक सञ्जालमा लेख्दै युद्धविराम घोषणा गरेको केही घण्टापछि दुवै देशले युद्धविराम स्वीकार गरे ।
इरान–इजरायलबीच चलेको १२ दिनको युद्धमा झन्डै ७०० जना इरानी मारिएका छन् । इजरायलतर्फ २८ जना मारिएका छन् । दुवैतर्फ १ हजार जनाभन्दा धेरै घाइते भएका छन् ।
इजरायलको आक्रमणले इरानमा भौतिक रूपमा पनि ठूलो क्षति पुगेको छ । इजरायलमा पनि हमाससँगको २० महिने युद्धमा भन्दा इरानसँगको १२ दिने युद्धमा बढी भौतिक क्षति भयो ।
इजरायलले इरानको आणविक कार्यक्रम अब फर्काउनै नसक्ने गरी नष्ट गरी युद्धको लक्ष्य प्राप्ति गरेको दाबी गरेको छ । तर इरानले इजरायल आणविक सुविधाहरू नष्ट गर्ने र आणविक ज्ञानलाई कमजोर पार्ने लक्ष्यहरू हासिल गर्न असफल भएको दाबी गरेको छ ।
यसैबीच इरानी राष्ट्रपति मसूद पेजेस्कियनले युद्धको अन्त्य भएको घोषणा गर्दै सबै सरकारी निकायलगायतका संस्थाहरूलाई पुनर्निर्माणमा आफ्ना सबै प्रयासहरू केन्द्रित गर्न आग्रह गर्नुभएको छ ।