२०८२ असार ९, सोमवार , ०२:१९:४२ बजे

Sajhamanch
'

हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव इरानको संसदबाट अनुमोदन

सोमवार, असार ९, २०८२

झापा । इरानको संसद्ले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव अनुमोदन गरेको छ । तर यसको कार्यान्वयन भने देशको सर्वोच्च राष्ट्रिय परिषद् र नेता आयतोल्लाह अली खामेनेईले गर्नुपर्छ ।

तत्काल यो मार्ग बन्द हुने सम्भावना कम रहे पनि विश्व अर्थतन्त्रमा त्रास फैलिएको छ । हर्मुज जलमार्ग इरानसँग जोडिने पर्सियन खाडी र ओमानको खाडी हुँदै अरब सागरसम्म पुग्ने बाटो हो । तेल उत्पादन गर्ने थुप्रै खाडी देशहरूले यो जलमार्ग प्रयोग गरेर तेल निर्यात गर्ने गर्छन् ।

इरानसहित साउदी अरेबिया, यूएई, कुवेत र इराकले आफ्नो तेल चीन, भारत, जापान, दक्षिण कोरियालगायतका देशमा निर्यात गर्न यही जलमार्ग प्रयोग गर्छन् ।

यो जलमार्ग प्रयोग गरेर विश्वको २० प्रतिशत तेल अन्तर्राष्ट्रिय बजारमा बेचिन्छ । यदि इरानले हर्मुज जलमार्ग बन्द गर्‍यो भने तेलको भाउ निकै बढ्नेछ ।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलमार्ग बन्द गर्ने तयारीबाट इरानलाई रोक्न चीनसँग आग्रह गरेका छन् । यो मार्ग बन्द हुँदा विश्व अर्थतन्त्र प्रभावित हुन सक्ने उनको भनाइ छ । हर्मुज जलमार्ग बन्द हुँदा अमेरिका प्रत्यक्ष प्रभावित हुँदैन तर चीन भने प्रत्यक्ष प्रभावित हुन्छ ।

चीनमा आयात हुने कच्चा तेलको ५० प्रतिशत यही बाटो भएर पुग्छ । चीनले इरानमा भएको आक्रमणको निन्दा गरे पनि जलडमरूमार्ग बन्दबारे कुनै स्पष्ट टिप्पणी गरेको छैन ।

सम्बन्धित खबर