
झापा । सिरियाको दमास्कसमा रहेको एक चर्चमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । आक्रमणमा अन्य ६३ जना घाइते भएका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सिरियाको गृह मन्त्रालयका अनुसार आइतवार बेलुका ड्वेला क्षेत्रको ग्रीक अर्थोडक्स चर्चमा एक व्यक्तिले गोली चलाएका र त्यसपछि विस्फोटक भेस्ट विस्फोट गराएका थिए ।
आक्रमणकारी जिहादी समूह इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध रहेको विवरण सार्वजनिक भए पनि समूहले तत्काल कुनै दाबी गरेको छैन ।चर्चभित्रका तस्वीर र भिडियोमा मण्डप र भित्ताहरूमा रगत लतपतिएको दृश्य देखिएको छ ।
डिसेम्बरमा इस्लामवादी नेतृत्वको विद्रोही सेनाले बसर अल–असदलाई अपदस्थ गरेपछि दमास्कसमा यो पहिलो पटक यस्तो आक्रमण भएको हो ।
प्रारम्भिक जानकारीअनुसार चर्चको प्रवेशद्वारमा बम विस्फोट हुँदा भवनभित्र र नजिकै रहेका मानिसहरूको ज्यान गएको खबरमा उल्लेख छ ।
आईएसले सिरियामा क्रिश्चियन र अन्य धार्मिक अल्पसङ्ख्यकहरूलाई लक्षित गर्दै बारम्बार आक्रमण गर्दै आएको छ ।