२०८२ साउन ३, शनिवार , १०:१६:०१ बजे

Sajhamanch
'

रुसको कुर्स्क पुनर्निर्माणमा सहयोग गर्न उत्तर कोरियाले हजारौं कामदार पठाउने

बुधवार, असार ४, २०८२

झापा । उत्तर कोरियाले रुसको युद्धग्रस्त कुर्स्क क्षेत्रको पुनर्निर्माणमा सहयोग गर्न हजारौं कामदार पठाउने मस्कोका सुरक्षा प्रमुखले बताएका छन् ।

मङ्गलवार उत्तर कोरियाको राजधानी प्योङयाङमा उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ता गर्नुभएका रुसी सुरक्षा परिषद्का सचिव सर्गेई शोइगुले यो तैनाथीलाई भाइचारा सहयोग भनेर वर्णन गर्नुभएको रुसी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

छिमेकी दक्षिण कोरिया र जापानले यो योजनाको तुरुन्तै निन्दा गरेका खबरमा उल्लेख छ । दक्षिण कोरियाले उत्तर कोरिया र रुसबीचको निरन्तर अवैध सहयोगमा गम्भीर चिन्ता रहेको बताएको छ । यस्तै जापानले यी घटनाक्रमहरूले युक्रेनी अवस्थालाई बिगार्ने र आफ्नो देश वरपरको क्षेत्रीय सुरक्षा वातावरणलाई असर गर्ने बताएको छ ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले बैठकमा किम र शोइगु दुवैले अन्य दीर्घकालीन योजनाहरूबारे पनि छलफल गरेका जनाएका छन् । यसअघि युक्रेनविरुद्धको रुसको युद्धलाई समर्थन गर्न उत्तर कोरियाले हजारौं लडाकू सेना र ठूलो मात्रामा परम्परागत हतियार आपूर्ति गरिसकेको छ ।

रुसी समाचार संस्था ‘तास’ ले शोइगुलाई उद्धृत गर्दै उत्तर कोरियाले कुर्स्क क्षेत्रको पुनर्स्थापनामा मद्दत गर्न निर्माणकर्ताहरूको एक डिभिजन, ५ हजार जनाको दुई सैन्य ब्रिगेडका साथै एक हजार जना डिमाइनर पठाउने बताएको छ ।

गएको वर्षको नोभेम्बरमा रुसले उत्तर कोरियासँग पारस्परिक रक्षा सन्धिमा हस्ताक्षर गरेको थियो ।

सम्बन्धित खबर