
काठमाडौं । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार हिजोसम्म ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो ।
सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका २४० महिला र ८८७ पुरुष गरी कुल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् ।
विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कुल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् ।
सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन् । आमादब्लममा १० समुहका एक सय २, ल्होत्सेमा नौ समूहका १०७, मकालुमा आठ समूहका ७९, कञ्चनजङ्घामा सात समूहका ७५, नुस्सेमा ६ समूहका ७६ र अन्नपूर्णमा ६ समूहका ६६ आरोही छन् ।
वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउने गर्छन् ।