२०८३ वैशाख २७ आइतवार , ०४:५३:१३ बजे

Sajhamanch
'

१० महिना सकिन लाग्दा साढे ११ खर्ब बजेट खर्च

आइतवार, वैशाख २७, २०८३

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याइएको १९ खर्ब ६४ अर्ब रुपैयाँ बजेटमध्ये ५८ दशमलव ७५ प्रतिशत खर्च भएको हो । चालू शीर्षकमा विनियोजित ११ खर्ब ८० अर्बमध्ये ८ खर्ब ९ अर्ब रुपैयाँ अर्थात् ६८ दशमलव ०४ प्रतिशत खर्च भएको छ ।

पूँजीगततर्फ भने ४ खर्ब ७ अर्ब विनियोजनमध्ये १ खर्ब ९ अर्ब अर्थात् २६ दशमलव ८७ प्रतिशतमात्र खर्च भएको छ । यस पटक पनि सरकार पूँजीगत खर्चमा कमजोर देखिएको छ । नवयुवा आन्दोलन र मध्यपूर्वको तनावलगायतका कारण खर्च कमजोर भएको बताइन्छ ।

आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ्दा कामको गुणस्तर घट्ने र अनियमिताको जोखिम बढ्ने चर्चाका बीच यस पटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ ।

यसैबीच सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म ९ खर्ब ७० अर्ब रुपैयाँमात्र सङ्कलन भएको छ ।

सम्बन्धित खबर