
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर गर्नु भएको छ ।
२६ औँ निर्मल लामा स्मृति सभामा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उहाँले फेरि श्रमजीवि वर्ग र कम्युनिस्ट एकतामा केन्द्रित गरेर नयाँ यात्रामा लाग्नुपर्ने बताउनु भयो ।
‘हिजो यसो गर्यौं र त्यसो गर्यौं भनेर आजको आवश्यकता पूरा हुने अवस्था छैन,’ प्रचण्डले सम्बोधनका क्रममा भन्नुभयो ।
साथै, उहाँले नयाँ शिराबाट विचारात्मक, राजनीतिक, सांगठनिक हरेक दृष्टिकोणबाट ल्याउने प्रयास पनि भइरहेको सम्बोधनका क्रममा भन्नुभयो ।
‘कम्युनिस्ट आन्दोलनको ठूलो शक्तिलाई केन्द्रित गर्ने जमर्को पनि गर्यौं । त्यो पक्षमा धेरै क्रान्तिकारीले अनुमोदन गर्नुभयो । जनताले पनि उत्साहका साथ अनुमोदन गरेको थियो । हामी निर्वाचनमा पनि झण्डै दुईतिहाइ बहुमतको नजिकै पुगेको थियो,’ प्रचण्डले सम्झना गर्नुभयो ।
यसबाट नेपालका श्रमजिवी र कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा जनता पनि रहेको उहाँको भनाइ थियो ।
‘यसले के देखाउँछ भने नेपालका श्रमजीवि जनता कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा छन् । ती प्रयास पनि लिडरसिपको तर्फबाट बेलामौकामा हुने गर्नु भएको छ । तर त्यसलाई सुदृढ बनाउन जुन हिसाबको विकास हुनुपर्थ्यो त्यो पुगेको थिएन । पुगेन । परिणामतः दिगो र सफल हुन सकेन,’ प्रचण्डले भन्नुभयो ।
एकता र विभाजनका धेरै शृङ्खला हुँदै आजको दिनसम्म आएको बताउँदै अहिले एकताको आवश्यकता झनै विशेष रुपले अघि बढेको प्रचण्डको भनाइ थियो ।
‘कम्युनिस्ट आन्दोलनको एकताको आवश्यकता छैन भन्ने होइन । एकता र विभाजनको थुप्रै शृङ्खला हुँदै आजसम्म आएको छ, सच्चा कम्युनिस्टको बीचमा एकताको आवश्यकता अहिले झन् विशेष रुपले बढेको छ,’ प्रचण्डले भन्नुभयो ।
अहिले देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढे र देश अप्ठेरो अवस्थामा आइपुगेको प्रचण्डको भनाइ छ ।
‘कम्युनिस्टलाई सखाप पार्ने जुन खेल भएका छन्, त्यो अझै सतहमा आएका छैनन् भन्ने मेरो बुझाइ छ,’ प्रचण्डले भन्नुभयो ।
जानेर वा नजानेर हामीले श्रमजीवि वर्गप्रति घात गरेको नै उहाँले ठहर्याउनु भयो ।
‘हामीले आफैंलाई पहिला राम्रो समीक्षा गरेर कहाँ कमजोरी भयो भन्ने कुरा सच्याउने प्रयास गर्नु र नयाँ ढंगले आन्दोलन अघि बढाउन जरुरी छ,’ प्रचण्डले भन्नुभयो, ‘हामीले हिजो जसरी जनयुद्ध, जनआन्दोलन र अभियानका क्रमबाट जहाँ आइपुगेका थियौं अहिले फेरि परिस्थितिले एकताको आधार खोजी गर्न बाध्य पारेको छ ।’


