२०८१ चैत १९, मङ्गलवार , ०२:२९:४५ बजे

Sajhamanch
'

यूएसएआईडी बन्द गर्ने थप कदम चाल्न अमेरिकी सङ्घीय अदालतको रोक

बुधवार, चैत ६, २०८१

झापा । अमेरिकाको सङ्घीय अदालतले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बन्द गर्ने थप कदम चाल्न रोक लगाएको छ ।

अदालतले एलन मस्कको नेतृत्वमा रहेको सरकारी कार्यदक्षता विभागलाई अमेरिकी सहयोग निकाय बन्द गर्न लिएको निर्णय तत्काल रोक्न आदेश दिएको हो ।

सङ्घीय न्यायाधीश थिओडर छ्वाङले यूएसएआईडी बन्द गर्ने प्रयासले अमेरिकी संविधानको उल्लङ्घन गर्न सक्ने भन्दै थप कदम चाल्न रोक लगाएका बीबीसीले जनाएको छ ।

उनले कर्मचारीहरूलाई यूएसएआईडीको कम्प्युटरमा पहुँच दिन र बिदामा राखिएका कर्मचारीहरूलाई तलब उपलब्ध गराउन आदेश दिएका छन् ।

यूएसएआईडीका कर्मचारीहरूको बर्खास्ती रोकिनुपर्ने आदेश दिए पनि हटाइसकेका कर्मचारीहरूलाई पुनर्बहाली गरिनुपर्ने आदेश भने छैन । नाम नखुलेका यूएसएआईडीका २६ जना कर्मचारीको तर्फबाट दायर मुद्दामा यो निर्णय आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेशविरुद्ध आफूले पुनरावेदन गर्ने भन्दै छ्वाङजस्ता न्यायाधीशहरू अमेरिकाका लागि राम्रो नभएको टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

गएको हप्ता अमेरिकी विदेशमन्त्री मार्को रुबिओले विश्वभरि अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य र आपत्कालीन सहयोगसम्बन्धी ८३ प्रतिशत कार्यक्रमहरू रद्द गर्न लागेको बताएको थियो ।

सम्बन्धित खबर