२०८१ पौष १२, शुक्रवार , १२:५१:४४ बजे

Sajhamanch
'

सिरियामा पूर्वराष्ट्रपति असदका समर्थकको आक्रमणमा १४ सुरक्षाकर्मी मारिए

बिहिवार, पौष ११, २०८१

काठमाडौं । सिरियामा पूर्वराष्ट्रपति बसर अल असदका समर्थकहरुको आक्रमणबाट १४ सुरक्षाकर्मीसहित १७ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

सिरियाको टार्टस प्रान्तमा बुधबार पूर्वराष्ट्रपति बसर अल असद निकटका एक अधिकारीलाई गिरफ्तार गर्न गएका सुरक्षाकर्मीहरु माथि घात लगाएर (एम्बुसमा पारेर) आक्रमण भएको थियो ।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले आक्रमणमा १४ सुरक्षाकर्मी र ३ जना असद समर्थक आक्रमणकारीसहित १७ जना मारिएको जनाएको छ ।

सुरक्षाकर्मीहरु असद निकट मोम्मद कन्जो हसनलाई गिरफ्तार गर्न गएका थिए । हसनमाथि सैदनया जेलका बन्दीहरुमाथि अत्याचार गरेको आरोप छ ।

दुई हप्ता अगाडि सशस्त्र विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस)का लडाकुहरु राजधानी प्रवेश गरेपछि राष्ट्रपति बसर अल असद देश छाडेर रुसमा शरण लिएर बसिरहेका छन् । त्यसयता सिरियाका ठाउँठाउँमा विभिन्न घटनलाई लिएर विरोध प्रदर्शन हुँदै आएको छ ।

मंगलबार टार्टसको भूमध्यसागरको बन्दरगाह नजिक क्रिसमस ट्रि जलाएको लगायतका घटनाको विषयलाई लिएर विरोध प्रदर्शन भएको थियो । बुधबार धार्मिक केन्द्रमा आक्रमण भएको एउटा पुरानो भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि तनाव सिर्जना भएको थियो ।

बुधबार टार्टस, लताकिया र जबलेह क्षेत्रमा केही प्रदर्शनकारीहरुले ‘हामी शान्ति चाहन्छौं’ भन्दै र्‍याली निकालेका थिए । दुई पक्षबीचको झडपलाई रोक्ने उद्देश्यले स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो ।

असद परिवारको ५० वर्ष लामो सत्ता एचटिएस विद्रोहीले ढालेको थियो । एचटिएसलाई संयुक्त राष्ट्र संघ, अमेरिका, युरोपेली संघ र बेलायतले आतंकवादी संगठनको सूचीमा राखेका छन् ।

तर, रुस समर्थित असदको सत्ता ढलाउन अमेरिकाले त्यही विद्रोही समूह एचटिएसलाई सघाएको आरोप छ । असदको सत्ता ढलेपछि उनका समर्थक र विरोधीहरुबीच झडप हुँदै आएको छ ।

सम्बन्धित खबर