पाँचथर । पाँचथरको फिदिममा चलिरहेको ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् ।
आज हुने पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फिदिम भारतको करसाङ एफसीलाई हराउँदै क्वाटरफाइनलमा पुगेको हो । आर्मी समुह ‘क’ बाट वाइ पाएर सीधै क्वाटरफाइनल खेल्न लागेको हो ।
शनिवारदेखि शुरू भएको प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख ५५५ तथा उपविजेताले पाँच लाख ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान विद्युतीय स्कुटर तथा विधागत रुपमा उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ‘ए’ डिभिजन लिगका चार वटा क्लबसहित १० टिमको सहभागिता रहेको छ ।