२०८१ मंसिर २६, बुधवार , ०८:२५:४१ बजे

Sajhamanch
'

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

बुधवार, मंसिर २६, २०८१

झापा । दक्षिण कोरियाको प्रहरीले बुधबार राष्ट्रपति युन सुक-योलको कार्यालयमा छापा मारेको छ ।

दक्षिण कोरियाको समाचार संस्था योनहापले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सियोल महानगरीय प्रहरी र नेशनल एसेम्बली प्रहरी गार्डका कार्यालयहरूमा पनि छापा मारिएको छ।

राष्ट्रपतिको सुरक्षा टोलीलाई छापा बारे पहिले नै जानकारी दिइएको थिएन। यो प्रहरी कारबाही राष्ट्रपति युन सुक-योलले देशमा सैनिक शासन लगाएको घटनापछि भइरहेको छ।

योनहापको रिपोर्टअनुसार, छापाको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा उपस्थित थिएनन्। गत हप्ता मंगलबार र बुधबारको बीचमा राष्ट्रपति युन सुक-योलले देशमा सैनिक शासन लागु गरेका थिए।

तर, ठूलो विरोध भएपछि उनले छ घण्टाभित्रै आफ्नो निर्णय फिर्ता लिएका थिए। युनको यो कदमपछि दक्षिण कोरियामा उनीविरुद्ध व्यापक विरोध भइरहेको छ र उनको विषयमा अनुसन्धान पनि जारी छ।

यसअघि २०१९ को डिसेम्बरमा बुसानका पूर्व उपमेयरमाथि लागेको भ्रष्टाचारको आरोपसँग जोडिएर राष्ट्रपतिको कार्यालयमा छापा मारिएको थियो । त्यतिबेला अनुसन्धान टोली कार्यालयभित्र प्रवेश गर्न नपाए पनि उनीहरूले मागेअनुसार सामग्री हस्तान्तरण गरिएको थियो ।

बीबीसीका अनुसार त्यतिबेला देशको नेतृत्व पूर्व राष्ट्रपति मून जाए-इनले गरेका थिए । अहिलेका राष्ट्रपति युनले सन् २०२२ मा मात्र पदभार सम्हालेका हुन्।

यस पटक अनुसन्धानकर्ताहरू सिधै राष्ट्रपतिको कार्यालय प्रवेश गरेका छन् ।

सम्बन्धित खबर