२०८१ मंसिर १७, सोमवार , ०३:३०:०१ बजे

Sajhamanch
'

अवैध हतियार र कर मुद्दामा दोषी ठहर हन्टर बाइडेनलाई माफी

सोमवार, मंसिर १७, २०८१

झापा । अवैध हतियार र कर मुद्दामा दोषी ठहर भएका छोरा हन्टर बाइडेनलाई माफी दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना बढेको छ ।

आफ्नो र परिवारको फाइदाका लागि शक्तिको प्रयोग नगर्ने विगतको प्रतिबद्धता तोडेको भन्दै उनको आलोचना भएको बीबीसीले जनाएको छ ।

बाइडेनले यसअघि छोरा हन्टरलाई माफी नदिने तर सजाय भने घटाउने बताउँदै आएका थिए। हन्टर डेलावेयर र क्यालिफोर्नियामा रहेका दुई वटा मुद्दामा दोषी ठहर भएका थिए । सन् २०१४ देखि विभिन्न मुद्दा खेपेका हन्टरले सन् २०२० देखि गम्भीर मुद्दाको सामना गरेका थिए ।

उनीविरुद्धका मुद्दामा राष्ट्रपति बाइडेनले हस्तक्षेप गर्ने र माफी दिने आशङ्का यसअघिदेखि गरिँदै आएकोमा बाइडेनले आफूले परिवारको बचाउका लागि शक्तिको दुरुपयोग नगर्ने दाबी गरेका थिए।

तर आज बाइडेनले हन्टरलाई माफीको घोषणा गर्दै उनीविरुद्धको फैसला राजनीतिक प्रतिशोधका रूपमा आएको बताएका छन् । अमेरिकामा अदालतले गरेको फैसला राष्ट्रपतिले उल्ट्याउन सक्ने व्यवस्था छ ।

यसैबीच अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनले आफ्ना छोरा हन्टरलाई माफी दिएकोमा न्यायको स्पष्ट दुरुपयोग भएको प्रतिक्रिया दिएका छन् ।

उनले हन्टरलाई माफी दिने हो भने अमेरिकी संसद् भवनमा जवनरी ६ मा भएको दङ्गामा सहभागी वर्षौंदेखि जेलमा रहेकाहरूलाई पनि माफी दिनुपर्ने बताएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर