२०८१ कार्तिक २, शुक्रवार , ०७:२१:३० बजे

Sajhamanch
'

तीन पालिकाको उपप्रमुखमा महिलालाई नै उम्मेदवार बनाउन अनिवार्य, तीन पालिका प्रमुखमा महिला वा पुरुष खुल्ला

बिहिवार, कार्तिक १, २०८१

काठमाडौं । राजनीतिक दलहरुले नलगाढ नगरपालिका, गौरीशंकर र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिलालाई नै उम्मेदवार उठाउनु पर्ने भएको छ ।

निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरुलाई निर्देशन दिने निर्णय गरेको हो ।

नलगाड नगरपालिका जाजरकोट, गौरीशंकर गाउँपालिका दोलखा र स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरामा उपप्रमुखका लागि उपचुनाव हुनेछ । तीन वटै पालिकामा हाल प्रमुख पुरुष रहेकाले निर्वाचन आयोगको पछिल्लो निर्णयअनुसार तीन वटै पालिकाको उपप्रमुखमा दलहरुले महिला उम्मेदवार उठाउनु पर्नेछ ।

यस्तै कीर्तिपुर नगरपालिका काठमाडौं, ग्रामनाथ गाउँपालिका मोरङ, महाबु गाउँपालिका दैलेखको प्रमुख पदमा उपचुनाव हुनेछ । तीनै पालिकामा उपप्रमुख महिला छन् । त्यसैले ती पालिकाहरुमा दलहरुले महिला वा पुरुष जसलाई पनि उम्मेदवार बनाउन सक्नेछन् ।

संविधान र कानुनको सकारात्मक व्याख्या गरेर महिलाको उम्मेदवारी सुनिश्चित गर्न यो निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

निर्वाचन कानुनमा प्रमुख वा उपप्रमुखमध्ये एउटा महिला उठाउनुपर्छ । त्यसअनुसार नै दलहरुले उम्मेदवारी दिएका थिए । तर अहिले एउटा मात्र पद रिक्त भएर उपचुनाव हुन लागेको छ । यसमा महिलाको उम्मेदवार अनिर्वाय हुन्न ।

‘महिलालाई आरक्षण नगर्ने हो भने सबै पुरुष हुने र हिजो जितेको पद पनि गुम्नसक्ने भएकाले संविधान र निर्वाचन कानुनको सकारात्मक व्याख्या गरी महिलाहरुको उम्मेदवारी सुनिश्चित गर्न खोजिएको हो’ थपलियाले भनेका छन् ।

१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन तोकिएको छ ।

सम्बन्धित खबर