२०८१ असोज ३०, बुधवार , ०७:०६:०७ बजे

Sajhamanch
'

भद्रपुरको हनुमानचोक दुर्घटनाका अर्का मोटरसाइकल चालक गिरीको पनि मृत्यु

शुक्रवार, असोज २५, २०८१

झापा । गएराति झापाको भद्रपुरमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

गएराति एकजना मोटरसाइकल चालकको मृत्यु भएको थियो भने आज दिउँसो अर्का मोटरसाइकल चालकको पनि मृत्यु भएको हो ।

दिउँसो ३.५५ बजे मे ८ प २८३५ नम्बरको मोटरसाइकलका चालक भद्रपुर ८ का २५ वर्षीय संजिप गिरीको पनि मृत्यु भएको हो । उनको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।

मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी सडकखण्डको भद्रपुर नगरपालिका– १० स्थित हनुमान चोकमा राति ९ः५० बजे चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल चालक भद्रपुर– १० केन्द्रमोड निवासी त्रिलोक भण्डारीका २३ वर्षीय छोरा आलोक भण्डारीको मृत्यु भएको थियो । घाइते भण्डारीलाई ओमसाई हस्पिटल भद्रपुरमा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार भद्रपुर नगरपालिका–१० का २४ वर्षीय बिपान्सु राउत र मे ८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर–८ का २५ वर्षीय संजिप गिरी घाइते भएका थिए ।

राउत र गिरीको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको थियो । घाइते राउत डिस्चार्ज भई घरतर्फ गएको डीएसपी चन्दले जानकारी दिए । दुवै सवारीसाधन जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको छ ।