२०८१ पौष २१, आइतवार , ०५:५४:५१ बजे

Sajhamanch
'

चीनले चन्द्रमामा जाने यात्रीले लगाउने ‘स्पेस सुट’ को बाहिरी आवरण सार्वजनिक गर्‍यो

आइतवार, असोज १३, २०८१

झापा । चीनले चन्द्रमामा जाने यात्रीले लगाउने कपडा अर्थात् ुस्पेश सुटु को बाहिरी आवरण सार्वजनिक गरेको छ ।

चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले पहिलो पटक चन्द्रमामा अवतरण गर्ने स्पेस सुटको बाहिरी डिजाइनको अनावरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

दक्षिण पश्चिम चीनको चोङ्गकिङ नगरपालिकामा रहेको चीन अन्तरिक्षयात्री अनुसन्धान तथा प्रशिक्षण केन्द्रले आयोजना गरेको तेस्रो स्पेस सुट टेक्नोलोजी फोरममा चन्द्रमामा अवतरण गर्ने क्रममा लगाइने स्पेस सुट सार्वजनिक गरिएको खबरमा उल्लेख छ ।

स्पेस सुट सुरक्षा सामग्रीबाट बनेको छ जसले चन्द्रमाको तापीय वातावरण र चन्द्रमाको धुलोबाट अन्तरिक्षयात्रीलाई बचाउन सक्छ ।

एकीकृत नियन्त्रण प्यानलले सुसज्जित सुटमा क्लोज–अप र लामो दूरीका दृश्य रेकर्ड गर्नका लागि क्यामेराहरू जोडिएको छ । स्पेस सुटमा लचिलो र भरपर्दो पन्जा, हेलमेट र कम गुरुत्वाकर्षण वातावरणका लागि अनुकूलित प्रणाली जोडिएको छ ।

यति धेरै सामग्री राख्दा पनि सुट निकै हलुका रहेको र चन्द्रमाको सतहमा हुने गतिविधिहरूका लागि उपयुक्त रहेको खबरमा उल्लेख छ ।

चीनको अन्तरिक्षयात्री अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अनुसार चन्द्रमामा अवतरण गर्ने स्पेस सुटको विकास सन् २०२० मा शुरू भएको थियो । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानवयुक्त यान अवतरण गर्ने योजनासहित पूर्वतयारीका काम गरिरहेको छ ।

सम्बन्धित खबर