झापा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानका लागि सात अर्ब डलर ऋण स्वीकृत गरेको छ । पाकिस्तानको प्रधानमन्त्री कार्यालयले आईएमएफले सात अर्ब डलर ऋण स्वीकृत गरेको जनाएको ‘बीबीसी हिन्दी’ ले उल्लेख गरेको छ ।
आर्थिक पुनर्स्थापनाका लागि आईएमएफले दिएका सुझावहरू कार्यान्वयनलाई तीव्रता दिएपछि ऋण अनुमोदन भएको पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
आर्थिक स्थिरता प्राप्त गरेपछि पाकिस्तानले आर्थिक विकासका लक्ष्यहरू प्राप्त गर्न कडा कदम चाल्नेछ । पाकिस्तानले कृषि कर संरचनामा सुधार गर्ने, राज्यहरूलाई वित्तीय अनुशासनका लागि जिम्मेवार बनाउने र केही अन्य कडा सुधारहरू लागू गर्ने प्रतिज्ञा गरेपछि बल्ल आईएमएफले सात अर्ब डलरको ऋण स्वीकृत गरेको हो ।
‘जियो न्यूज’ का अनुसार नयाँ ऋणको पहिलो किस्ताबापतको एक अर्ब एक करोड डलर आउँदो सोमवार जारी हुने अपेक्षा छ ।
खराब आर्थिक अवस्थाका कारण पाकिस्तान आईएमएफको ऋणमा निर्भर छ । सन् १९५८ देखि पाकिस्तानले २२ पटक ऋणका लागि आईएमएफमा निवेदन दिएको छ । आईएमएफ पाकिस्तानको पाँचौं ठूलो ऋणदाता हो ।